काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम जम्मा गर्ने भएको छ।
कर्मचारीको तलब कट्टा गरी राहत कोषमा जम्मा गर्नुका साथै बाढीमा मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई संगठनले २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
निर्णय अनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानको ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।
बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत कर्मचारीहरूको हकमा रकम कट्टा गरिने छैन।
मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्र सेवकहरूको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला र परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि,२०७९ बमोजिम ५ लाख रुपैयाँ उपलब्ध गराइने छ। साथै सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाख समेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय सशस्त्र प्रहरीले जनाएको छ।
मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र सन्ततिहरूलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय समेत संगठनले गरेको छ।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य बाढीका कारण मृत्यु भएमा राहतस्वरुप प्रतिव्यक्ति एक लाख तत्काल उपलब्ध गराउने र बाढीको कारणबाट मृत्यु भएका कर्मचारीहरूको स्मृतिमा संगठनले उपयुक्त स्थानमा स्मारक समेत निर्माण गर्ने निर्णय गरेको छ।
मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका १/१ जना सदस्यहरूलाई सिपमूलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरूप जनही ५० हजारका दरले तत्काल उपलब्ध गराउने समेत संगठनले निर्णय गरेको छ।
बाढीबाट अवकाश प्राप्त कर्मचारीको मृत्यु भएमा एक लाख¸ घरबारविहीन भएमा एक लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई ५० हजारसम्म तत्काल उपलब्ध गराउने निर्णय सशस्त्रले गरेको छ।










