राष्ट्रसंघको महासभामा गएर जलवायु परिवर्तनको मुद्दा उठाउन बालेनलाई मनिषको सुझाव



बिजमाण्डू
२०८३ भदौ १८ गते १६:२५ | Sep 3, 2026
राष्ट्रसंघको महासभामा गएर जलवायु परिवर्तनको मुद्दा उठाउन बालेनलाई मनिषको सुझाव


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई अन्तर्राष्ट्रिय मञ्चमा गएर जलवायु परिवर्तनका काण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति माग्न सुझाव दिएका छन्।

Vigo
GBIME
Tata

उनले प्रतिनिधि सभाको बिहीबारको बैठकमा जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी भएको र जलवायु परिवर्तनमा नेपालको भूमिका नरहेको बताए। उनले जलवायु परिवर्तनको मुख्य कारण मानिने कार्बन उत्सर्जन नेपालले एक प्रतिशत भन्दा कम गरेको बताए।

‘चीन जस्ता देश छन्, जसले २९% भन्दा बढी कार्बन उत्सर्जन गरिरहेका छन्। भारतले ८.२२%, अमेरिकाले ११.११% गर्छन्। हाम्रो भने १% भन्दा पनि कम छ। तर, हामीले किन यसको मूल्य चुकाइरहेका छौँ?,’ उनले भने।

मनिषले सबै राजनीतिक दल जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्ति माग गर्ने मुद्दामा एक ठाउँमा उभिनुपर्ने बताए।

‘सम्पूर्ण नेपालीहरू र सबै राजनीतिक दलहरू एक ठाउँमा उभिने र यो मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने। अब हामी कुनै राहतका लागि भिख माग्दै छैनौं। समय आइसकेको छ। कार्बन उत्सर्जन गर्न जिम्मेवार रहेका सम्पूर्ण देश, उनीहरू नै नेपाललाई क्षतिपूर्ति तिर्न जिम्मेवार छन्,’ उनले भने।

उनले बालेनलाई संयुक्त राष्ट्रसंघको महासभा र अन्य अन्तर्राष्ट्रिय मञ्चमा आफैं उपस्थित भएर पूर्ण शक्तिका साथ क्षतिपूर्ति दाबी गर्न सुझाव दिए। क्षतिपूर्ति माग गर्न अहिले सबैभन्दा उपयुक्त समय रहेको उनको भनाइ छ।