काठमाडौं। पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा थुनिएकाहरुको उद्धारका लागि सम्बद्ध ठाउँमा उपकरण छिटो पुर्याउन ध्यानकर्षण गराएका छन्।
भोटेकोशी-त्रिशूलीमा आएको बाढी आएको एक साता भयो। सुरुङमा थुनिएकाहरुको अझै उद्धार हुन सकेको छैन। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाको सुरुङमा थुनिएकाहरुको उद्धारका लागि हिलो फाल्ने मेसिन संसारमै नभएको बुधबार संसद्मा बताएका थिए।
शाहलाई घिसिङले चाँडो हेभी इक्विपमेन्टहरु घटनास्थलमा पुर्याउन भनेका हुन्। नेपालमा अहिले भएका हेलिकप्टरले डोजर, एस्काभेटर लगायतका उपकरण लैजान नसक्दा समस्या भएको बालेनको भनाइ थियो। नेपालमा अहिले रहेका हेलिकप्टरले नसके विदेशबाट सहयोग लिन घिसिङले सुझाव दिएका छन्।
‘हामीसँग भएको रिसोर्स र बाहिरबाट ल्याउनुपर्ने भए ल्याउँछौं। त्यस्तो स्पेसल प्रविधि चाहिने पनि होइन। पहिले इक्विपमेन्ट पुग्नुपर्यो। त्यहाँ पुर्याउन समस्या हो। हेभी इक्विपमेन्ट पुर्याउनुपर्यो। इफेक्टिभले काम अघि बढाउनुपर्यो,’ घिसिङले भनेका छन्।
मोबिलाइजेसनमा नेपालको हेलिकप्टरले भ्याएसम्म गरेको छ। विदेशबाट ल्याउनुपर्ने भए पनि ल्याउनुपर्ने उनले बताएका छन्। दिन बित्दै जाँदा उद्धारमा ढिलाइ प्रति सर्वत्र चिन्ता छ।










