काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएसँगै मकवानपुर हुँदै उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारीसाधनको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रारत व्यक्तिहरूलाई ६ बुँदे निर्देशन जारी गरेको छ।
सवारीसाधनको अत्यधिक चाप बढेपछि स्थानीय प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरेको हो।
स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँतर्फको यात्रा नगर्न अपिल गरेको छ। मालवाहक सवारीसाधनहरूलाई कान्ति लोकपथ प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ।
१४ सिट क्षमताभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ। १४ सिटसम्म क्षमताका साना सवारीसाधनलाई भीमफेदी- देउराली हुँदै काठमाडौंतर्फ जान-आउन प्रशासनले सबैलाई आग्रह गरेको छ। सोही अनुसार व्यवस्था मिलाउन पनि प्रशासनले ध्यानाकर्षण गराएको छ।
काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै हेटौंडातर्फ आउने सबै सवारीसाधनलाई राति १ बजेसम्म हेटौंडा पुगिसक्न र हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारीसाधनलाई राति १ बजेपछि मात्र जाने व्यवस्था गर्न पनि स्थानीय प्रशासनको सूचनामा भनिएको छ।












