भाउ महँगिएपछि बजारमा छैन सुनको माग, साउनमा जम्मा ५० किलो भित्रियो, किन्नेभन्दा बेच्ने धेरै



बिजमाण्डू
२०८३ भदौ ८ गते १८:३७ | Aug 24, 2026
भाउ महँगिएपछि बजारमा छैन सुनको माग, साउनमा जम्मा ५० किलो भित्रियो, किन्नेभन्दा बेच्ने धेरै


काठमाडौं। चालु आर्थिक वर्ष साउनमा सुन आयात घटेको छ। गत वर्ष साउनको तुलनामा यसपालि सुन आयात आधा घटेको हो।

Vigo
GBIME
Tata

भन्सार विभागको तथ्यांक अनुसार साउनमा जम्मा ५० केजी सुन आयात भएको छ। जबकि सुनको आयातको कोटा नै दैनिक २५ केजी छ। गत वर्ष सोही अवधिमा १०० केजी सुन आयात भएको थियो।

सुन आयात गर्न एक महिनामा एक अर्ब १ करोड २६ लाख रुपैयाँ बाहिरिएको छ। गत वर्ष साउनमा सुन आयातमा १ अर्ब ५२ करोड ६३ लाख रुपैयाँ खर्च भएको थियो।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर ४ महिना यताकै उच्च अर्थात प्रति औंस ४६४६.९५ डलर पुगेको छ। नेपाली बजारमा पनि सुनको मूल्य चार दिनदेखि लगातार बढेर प्रति तोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।

भाउ महँगो भएपछि बजारमा सुनको माग घटेको छ। त्यही कारण वाणिज्य बैंकहरुले आयात घटाएका हुन्। साउनमा २ वटा बैंकले २५ केजीका दरले सुन आयात गरेका थिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यले सुनको भाउ तोलाको ३ लाख नाघेपछि बजारमा बिक्री गर्नेहरु बढेको बताए।

‘भाउ महँगिंदा बजारमा अहिले ग्राहकले किन्ने भन्दा बिक्री गर्ने क्रम बढेको छ’, उनले भने ‘ग्राहकले बिक्री गरेको सुनले नै पुग्ने भएकाले व्यवसायीले बैंकसँग खरिद नगरेका हुन्।’

सुन किनबेचका लागि तीजलाई सिजन मानिन्छ। तर, भाउ दिनहुँ बढिरहेका कारण यसपालि तीजमा सुनको कारोबार बढ्नेमा व्यवसायी धेरै आशावादी छैनन्।