काठमाडौं। नेपाल आउने विदेशी पर्यटकका लागि डिजिटल भुक्तानी थप सहज हुने भएको छ। मास्टरकार्ड र मोकोले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेका छन्।
अब अन्तर्राष्ट्रिय पर्यटकले आफ्नो मास्टरकार्ड मोको ट्राभल एपमा लिंक गरेर नेपालभर क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। यसका लागि नयाँ कार्ड वा छुट्टै प्रिपेड खाताको आवश्यकता पर्दैन।
मोको ट्राभल एपमार्फत पर्यटकले नेपालपे र फोनपे क्यूआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। एप एप्पलको एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ।
होटल, रेस्टुरेन्ट, पसल, स्थानीय बजार तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा यो सुविधा प्रयोग गर्न सकिनेछ। यसले पर्यटकलाई नगद बोक्ने र मुद्रा साट्ने झन्झटबाट पनि राहत दिनेछ।


मास्टरकार्डको विश्वव्यापी पे लोकल सेवामा आधारित यो प्रणाली सुरक्षित र सहज डिजिटल भुक्तानीका लागि तयार गरिएको हो। पर्यटकले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको मास्टरकार्डबाटै नेपालमा खर्च गर्न सक्नेछन्।
यसबाट स्थानीय व्यवसायलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ। उनीहरूले नयाँ भुक्तानी पूर्वाधार थप्नुपर्दैन। विद्यमान क्यूआर प्रणालीमार्फत विदेशी ग्राहकबाट भुक्तानी लिन सक्नेछन्।
मास्टरकार्डका श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर सन्दुन हापुगोडाले विदेशी पर्यटकले आफूले प्रयोग गर्दै आएको भुक्तानी अनुभव विदेशमा पनि खोज्ने बताएका छन्। नेपालमा मास्टरकार्ड पे लोकल सुरु भएपछि पर्यटकले देशभरको क्यूआर प्रणाली प्रयोग गर्न सक्ने उनको भनाइ छ।
उनका अनुसार यसले पर्यटकलाई भुक्तानीको चिन्ताभन्दा नेपाल घुम्नमा बढी समय दिन मद्दत गर्नेछ। साथै, स्थानीय व्यवसायले बढ्दो पर्यटनबाट थप लाभ लिन सक्नेछन्।


फोकुसोन पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले मास्टरकार्डसँगको सहकार्यले नेपाल आउने पर्यटकको भुक्तानी अनुभव सुधार्ने बताए। मोको ट्राभल एप मार्फत विदेशी पर्यटकले नेपालको क्यूआर भुक्तानी प्रणाली सहज रूपमा प्रयोग गर्न सक्ने उनले बताए।
नेपालमा सुरु भएको यो सेवा एसियामा मास्टरकार्ड पे लोकलको विस्तारकै अर्को चरण हो। चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंका लगायतका बजारमा यो सेवा सञ्चालनमा छन्।
नयाँ सुविधाले नेपालमा बढ्दो डिजिटल भुक्तानीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। साथै, विदेशी पर्यटकका लागि नेपालमा किनमेल, खानपान र यात्राका क्रममा भुक्तानी अझ सरल बन्नेछ।










