काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी उनीहरूको आर्थिक सशक्तीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
उनले आइतबार ३२औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले गरेको कार्यक्रममा ओपन एयर लिभिङ म्युजियम जस्ता अवधारणामार्फत आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडी आर्थिक लाभ लिने नीति अवलम्बन गर्नुपर्ने बताए।
उनले राज्यको नीति निर्माण तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए। स्थानीय तहमा हाल आदिवासी जनजातिको ३६.८ प्रतिशत प्रतिनिधित्व छ।









