चामल र तेल थोकमै महँगियो, जिरा मसिनो चामल उद्योगमै बोराको २४ सय पुग्यो



सरला सुवेदी
२०८३ साउन २३ गते १६:०० | Aug 8, 2026
चामल र तेल थोकमै महँगियो, जिरा मसिनो चामल उद्योगमै बोराको २४ सय पुग्यो


काठमाडौं। चामल र खानेतेल क्रमिक महँगिएको छ। चालु आर्थिक वर्ष सुरु भएलगत्तै बजारमा खाद्यान्नको मूल्य बढ्न थालेको हो।

Tata
GBIME

खाद्य वस्तुहरूमा पछिल्लो समय तुलनात्मक रूपमा चामल र खानेतेलको मूल्य उच्च भएको किराना व्यवसायीले बताएका छन्। थोक विक्रेताहरू धानको मूल्य बढेपछि त्यसको असर चामलमा सोझै परेको जिकिर गर्छन्।

व्यवसायीका अनुसार गत महिनासम्म पूर्वी एसियामा भएको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा खाद्यान्नको लागत र ढुवानी खर्चसमेत बढेको थियो। अहिले भने आयातकर्ता र उद्योगीले नै मूल्य बढाएर बजारमा पठाउँदा उपभोक्ता मूल्य उच्च भएको किराना व्यवसायीको भनाइ छ।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले धानको मूल्य बढेकाले चामल महँगिएको बताए। उनका अनुसार भारतमा धान महँगिएको छ, आन्तरिक बजारमा पनि धानको मूल्य प्रतिक्विन्टल करिब ८ सय रुपैयाँसम्म बढेको छ। त्यसको असर चामलमा पर्दा प्रति किलो १५ रुपैयाँसम्म वृद्धि भएको उनले बताए।

‘धान पहिलेभन्दा महँगो भएकाले चामलको मूल्य बढेको हो,’ अग्रवालले भने, ‘अहिले उद्योगबाटै ब्रान्डअनुसार २५ किलोको चामलको बोराको मूल्य २ हजार ३ सयदेखि २ हजार ४ सय रुपैयाँसम्म पुगेको छ।’

गत महिना जिरा मसिनो चामलको २५ किलोको बोरा २ हजार ३ सय रुपैयाँ र सोना मन्सुलीको ३० किलोको बोरा १ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको थियो। दाल तथा गेडागुडीको मूल्य भने हाल स्थिर रहेको व्यवसायीले बताएका छन्। यो महिना सुरु भएपछि पनि चामलको मूल्य बढ्ने क्रम जारी रहेको अग्रवालले बताए।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले पनि चामल र तेलको मूल्य लगातार बढिरहेको बताए। उनका अनुसार आयातकर्ता तथा उत्पादकबाटै बढेको मूल्यमा सामान बजारमा आउँदा खुद्रा मूल्यसमेत बढेको हो।

‘भाउ किन बढ्यो भन्ने कारण कसैले खुलाउँदैन, तर हरेक साताजस्तो मूल्य बढ्न थालेको छ,’ तुलाधरले भने।

उनका अनुसार साउन १ गते प्रति किलो १०० रुपैयाँ रहेको स्टिम चामल अहिले १०५ रुपैयाँ पुगेको छ। काँचो तोरीको तेल प्रति लिटर १० रुपैयाँ बढेर २९० रुपैयाँ पुगेको छ भने सूर्यमुखी तेल पनि प्रति लिटर ५ रुपैयाँ बढेर २९० रुपैयाँ पुगेको छ।

बानेश्वरस्थित सुनादेवी खाद्यान्न स्टोरका संचालक समर कठायतका अनुसार पछिल्लो समय बजारमा चामल र तेलको मूल्य सबैभन्दा बढी बढेको छ। सामान उपलब्ध भए पनि नयाँ सामान आउँदा मूल्य बढेर आउने गरेको उनले बताए।

‘चामलको मूल्य बढेर गत वर्षकै जस्तो २५ किलोको बोराको २ हजार ६ सय रुपैयाँभन्दा बढी पुग्ने देखिएको छ,’ कठायतले भने, ‘डिलरले मूल्य बढ्नुको स्पष्ट कारण खुलाएका छैनन्। नयाँ सामान आउँदा मूल्य बढेको हुन्छ।’

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानले पनि भारतमा धानको मूल्य बढ्दा चामल महँगिएको बताए। उनका अनुसार भारतले चामल निर्यात गरेपछि मूल्य थप बढेको सुनिएको छ। चामल खरिद गर्ने डिलरले पनि धानको मूल्य बढेकै कारण चामल महँगिएको बताउने गरेको उनले जानकारी दिए।

प्रधानका अनुसार अहिले ब्रान्डअनुसार जिरा मसिनो चामलको २५ किलोको बोरा २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँसम्म पर्न थालेको छ। सोना मन्सुलीको बोरा १ हजार ७ सय ५० रुपैयाँ तथा स्टिम चामल २ हजार ४ सयदेखि २ हजार ५ सय ५० रुपैयाँसम्म पुगेको छ। पछिल्लो समय चामलको मूल्य मात्रै बोरामा ६ सय रुपैयाँभन्दा बढी बढेको उनले बताए।

‘चाडपर्वको समयमा चामलको मूल्य अझै बढ्ने देखिन्छ,’ प्रधानले भने।

सूर्यमुखी तेलको मूल्य पनि पहिलेको २ हजार ८ सय रुपैयाँबाट बढेर कार्टुनमा २ हजार ८ सय ५० देखि २ हजार ९ सय रुपैयाँ पुगेको छ। तोरी र भटमासको तेलको मूल्यसमेत बढेको व्यवसायीले बताएका छन्।

किराना व्यवसायीका अनुसार अब नयाँ धान बजारमा आएपछि मात्रै चामलको मूल्य केही घट्न सक्नेछ। अहिले धान रोप्ने सिजन भएकाले तत्काल मूल्य घट्ने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।

भारतमा पनि नयाँ धान बजारमा आएपछि चामलको मूल्य केही सस्तो हुन सक्ने व्यवसायी बताउँछन्। गत वर्ष पनि नयाँ धान बजारमा आउने समयसम्म जिरा मसिनो चामलको बोरा २ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।