भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको यसरी हुँदैछ तयारी (तस्बिरहरू)



सुशील श्रेष्ठ
२०८३ साउन २० गते १२:१६ | Aug 5, 2026
भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको यसरी हुँदैछ तयारी (तस्बिरहरू)


काठमाडौं। नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु हुन अब मात्रै साता दिन बाँकी छ।

Tata
GBIME

आयोजकले एक महिनाअघि नै पत्रकार सम्मेलन गर्दै एक्स्पो साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने जानकारी दिएको थियो। एक्स्पोका लागि धमाधम स्टलहरू तयार गरिँदै छ।

एक्स्पो स्थल भृकुटीमण्डपमा स्टल निर्माणका लागि चहलपहल निकै छ। सामान बोकेका सवारीसाधनहरूको ओहोरदोहोर बढ्दो छ। कामदारहरू पनि भृकुटीमण्डप परिसरमा निकै मेहेनतका साथ स्टल बनाउन खटिरहेको देख्न सकिन्छ।

यसपालिको नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने छ। एक्स्पो संयोजक गौरव शारदाले एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहने बताएका छन्।

यस वर्षको नाइमा मोबिलिटी एक्स्पोको मुख्य प्रायोजक रेड बुल हो। संयोजक शारदाका अनुसार गत वर्षको तुलनामा यसपटकको एक्स्पो अझ ठूलो, व्यवस्थित र प्रिमियम स्तरको हुनेछ।

वर्षाका कारण गत वर्ष देखिएका आवतजावतका समस्यालाई समाधान गर्न हलदेखि हलसम्म सहज रूपमा आवतजावत गर्न मिल्ने व्यवस्था गरिने भनिएको छ। साथै, सवारी पार्किङका लागि नेपाल प्रहरी क्लब परिसरमा दिनभरि पार्किङ सुविधा उपलब्ध हुनेछ।

आयोजकका अनुसार एक्स्पोको प्रवेश टिकटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। आगन्तुकका लागि फुड कोर्टको व्यवस्था पनि गरिनेछ।

यस वर्ष पनि एक्स्पोमा लर्निङ सेसन संचालन हुनेछ। ती सेसनमा केवल अटोमोबाइल र प्रविधिमै सीमित नभई, भविष्यमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ अघि बढ्दै छ, नयाँ प्रविधि, नवप्रवर्तन तथा उद्योगको भावी सम्भावनाबारे विज्ञहरूसँग छलफल गरिने छ।