सुनसरी र सिरहा घटनामा न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग कांग्रेसको माग



बिजमाण्डू
२०८३ साउन १८ गते १९:२१ | Aug 3, 2026
सुनसरी र सिरहा घटनामा न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग कांग्रेसको माग


काठमाडौं। नेपाली कांग्रेसले तराईमा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।

Tata
GBIME

कांग्रेसले सोमबार संसदीय दलको बैठक राखेर न्यायिक छानबिन समिति गठनको माग गरेको हो। ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौं। भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौं,’ बैठकपछि कांग्रेसले पठाएको प्रेस नोटमा भनिएको छ।

सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच साउन १० गते राति भएको झडप नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो। त्यो घटनाको विरोधमा सिरहा, सप्तरी, धनुषा, पर्सा लगायत जिल्लामा पनि प्रदरश्न भएको थियो। सिरहामा पनि गोली लागेर एकजनाको ज्यान गएको थियो।

कांग्रेसले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्‍भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको बताएको छ।

सरकारले घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा अवस्था गम्भीर बनेको कांग्रेस संसदीय दलको निष्कर्ष छ।

कांग्रेसले घटनामा घाइते भएकाहरुको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिनका लागि सामाजिक सद्‍भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।