काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को जहाजमा सिट अकुपेन्सी ८५.४ प्रतिशत पुगेको छ। पोहोर असारमा सिट उपयोगिता करिब ७५ प्रतिशत रहेकामा यसपालि बढेको हो।
अकुपेन्सी बढेका कारण आम्दानी पोहोर असारको तुलनामा यसपालि ३२ प्रतिशत बढेको एनएसीले जनाएको छ। एनएसीमा असार मसान्तदेखि नयाँ व्यवस्थापनले काम गरिरहेको छ।
असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरेकामा उनले एनएसीलाई तीन वर्षभित्र आत्मनिर्भर बनाउने योजना अगाडि सारेका छन्।
उनले जिम्मेवारी सम्हालेयता आफूले सञ्चालक समितिका तीनवटा बैठक गरेर संस्थागत सुधारका कार्ययोजना, प्राथमिकता र रणनीति तय गरेको बताए।









