सुस्तामा नेपाली पक्षले बनाएको माटोको बाँध एसएसबीले भत्कायो, स्थानीयले जनाए विरोध



बिजमाण्डू
२०८३ साउन १७ गते १७:०० | Aug 2, 2026
सुस्तामा नेपाली पक्षले बनाएको माटोको बाँध एसएसबीले भत्कायो, स्थानीयले जनाए विरोध


काठमाडौं। नवलपरासीको सीमावर्ती क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले निर्माणाधीन बाँध भत्काएपछि स्थानीय विरोधमा उत्रिएका छन्।

Tata
GBIME

आइतबार दिउँसो हतियारसहित ५०/६० जनाको संख्यामा आएको एसएसबीको टोलीले निर्माण भइरहेको बाँध भत्काएको हो।

सम्भावित विपद्को कारण देखाउँदै सीमा नजिकै नेपाली पक्षबाट केही माटो राखिएको थियो। एसएसबीले त्यसमा असन्तुष्टि जनाइरहेको थियो।

‘हामीले माटो राखेका थियौँ, सम्भावित विपद्लाई हेरेर। त्यसैलाई आएर हटाएका हुन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने।

गत जेठमा नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम एसएसबीले रोकेको थियो। त्यसपछि नै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा यसबारेमा जानकारी दिएका थिए।

नेपालले नयाँ निर्माण गर्न लागिएको खण्ड तत्काललाई नबनाउन एसएसबीका तर्फबाट आग्रह भएको थियो।

सुस्तामा अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइअन्तर्गत बाँध निर्माण भइरहेको छ। जहाँ १ किलोमिटर बाँधको मर्मतसम्भार भएको हो। बाँकी १३२ मिटर भने नयाँ बाँध निर्माण गर्नुपर्नेछ।

भारतीय पक्षले नयाँ १३२ मिटर बाँध निर्माणमा भने असहमति जनाएको छ। हाल सो क्षेत्रमा पुरानो मर्मत सकिएको छ।

नयाँ बाँध निर्माण सुरु हुन लाग्दा भने समस्या देखिएको छ। अहिले विवाद भएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोली एसएसबीसँग छलफल गरिरहेको थियो।