ठुलो ब्याट्री साइजमा टाटा पन्च इभीको फेसलिफ्ट नेपाल आयो, के के फिचर थपियो?



बिजमाण्डू
२०८३ साउन १३ गते १८:०९ | Jul 29, 2026
ठुलो ब्याट्री साइजमा टाटा पन्च इभीको फेसलिफ्ट नेपाल आयो, के के फिचर थपियो?


काठमाडौं । भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सको नयाँ कार टाटा पन्च इभीको फेसलिफ्ट मोडल नेपाल भित्रिएको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार उक्त गाडी काठमाडौं ल्याएको हो।

Tata
GBIME

कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधारसहित नयाँ मोडल नेपाली बजारमा ल्याएको हो।

हाल बिक्री भइरहेको पन्च इभीले राम्रो बजार हिस्सा बनाएको भए पनि अन्य ब्रान्डका गाडीहरुसँग प्रतिस्पर्धा गर्न सिप्रदीले पन्च इभीको फेसलिफ्ट संस्करण नेपाल ल्याएको हो। कम्पनीले ल्याएको एसयुभीले नामी भिगो, बिवाइडी एटो टु जस्ता गाडीहरुसँग प्रतिस्पर्धा गर्ने देखिन्छ।

नयाँ मोडलमा डिजाइन मात्र होइन, ब्याट्री, चार्जिङ, सुरक्षा र प्रविधिमा समेत व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ।
गाडीको अगाडिको भागलाई अझ सफा र आधुनिक बनाइएको छ।

नयाँ बम्पर, ग्रे कन्ट्रास्ट डिजाइन, बम्परमै राखिएको फ्रन्ट क्यामेरा, अगाडिको चार्जिङ पोर्टमुनिको एयर ड्याम हटाइएको, पछाडि इन्ड-टु-इन्ड इन्फिनिटी ग्लो एलईडी टेललाइट, नयाँ स्किड प्लेट डिजाइन र डट इभिको सट्टा टाटा डट इभिको ब्याज प्रयोग गरिएको छ। गाडीको लम्बाइ पनि २३ मिलिमिटर बढेर ३ हजार ८८० मिलिमिटर पुगेको छ।

इन्टेरियरमा ‘ग्रे एन्ड ह्वाइट’ रंगको नयाँ थिम, आधुनिक आईटोगल पावर विन्डो स्विच तथा थप प्रिमियम फिनिस दिइएको छ। साथै २६.०३ सेन्टिमिटरको एचडी हर्मनको इन्फोटेनमेन्ट स्क्रिन, सोही आकारको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, बिल्ट-इन नेभिगेसन, वायरलेस स्मार्टफोन चार्जर, भ्वाइस-असिस्टेड सनरुफ, एयर प्युरिफायर, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, रियर आर्मरेस्ट तथा भेन्टिलेटेड लेदरेट सिट जस्ता सुविधा थपिएका छन्।

हाल उपलब्ध ३५ किलोवाट आवर(युनिट) क्षमतालाई बढाएर ४० किलोवाट आवर(युनिट) बनाइएको छ। यसले फुल चार्जमा पहिलेको भन्दा राम्रो रेन्ज प्रदान गर्ने भनिएको छ।

४० किलोवाट आवर क्षमताको नयाँ लिथियम आरन फोसफेट(एलएफपी) प्रिज्माटिक ब्याट्री प्याक हो। अघिल्लो मोडलमा प्रयोग भएको सिलिन्ड्रिकल सेलको सट्टा प्रिज्माटिक सेल प्रयोग गरिएकाले तापीय सुरक्षा, चार्जिङ सुरक्षा, टिकाउपन र कार्यक्षमतामा सुधार हुने कम्पनीको दाबी छ।

चार्जिङ क्षमतामा पनि उल्लेख्य सुधार गरिएको छ। १.५सी डीसी फास्ट चार्जिङ प्रविधिका कारण गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्र २६ मिनेट लाग्नेछ। साथै १५ मिनेटको चार्जमै १३५ किलोमिटर वास्तविक रेन्ज प्राप्त हुने कम्पनीको दाबी छ।

यसमा ग्राउन्ड क्लियरेन्स पनि बढेर १९५ एमएम बनाइएको छ। यसअघिको मोडलमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स थियो। यसले अफ रोडमा ड्राइभ गर्न अझै सजिलो बनाउने कम्पनीले जनाएको छ।

साथै २२ डिग्री एप्रोच एंगल, ४१ डिग्री डिपार्चर एंगल र ४५० मिलिमिटर वाटर वेडिङ क्षमता दिइएकाले खराब सडक तथा पानी जमेको सडकमा पनि सहज रुपमा चलाउन सकिने कम्पनीले जनाएको छ।

नयाँ पन्च इभिमा ६ वटा एयरब्याग स्ट्यान्डर्ड रुपमा उपलब्ध हुनेछ। साथै ईएसपीसहित ६० भन्दा बढी सुरक्षा फिचर, ब्लाइन्ड स्पट भ्यु मनिटर, रेन सेन्सिङ वाइपर र ९० डिग्रीसम्म खुल्ने ढोकाले सुरक्षा र प्रयोगकर्ताको सुविधा दुवै बढाउने कम्पनीको दाबी छ।

कम्पनीले नयाँ ‘आई-सिक्स इन वान इभि ड्राइभ युनिट’ पनि उपलब्ध गराएको छ। एउटै युनिटमा विभिन्न प्रणालीलाई समेटिएकाले गाडीको पफ्रमेन्स, रेन्ज र विश्वसनीयता बढ्ने कम्पनीको भनाइ छ। साथै मल्टि-मोड रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर र तीनवटा ड्राइभ मोडको संयोजनबाट १२ वटा ड्राइभिङ सेटअप प्रयोग गर्न सकिनेछ।

यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने कम्पनीले जनाएको छ। नयाँ डिजाइन, ठूलो ब्याट्री र प्रिमियम फिचरका कारण यो गाडी इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा यसको प्रतिस्पर्धा अझ बलियो हुने अनुमान गरिएको छ।