सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कर्फ्यु र निषेधाज्ञाको आदेश जारी, भेला र जुलुस गर्न बन्देज



बिजमाण्डू
२०८३ साउन ११ गते ०९:३९ | Jul 27, 2026
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कर्फ्यु र निषेधाज्ञाको आदेश जारी, भेला र जुलुस गर्न बन्देज


काठमाडौं। सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेदेखि सुनसरी जिल्लाको दक्षिण-पश्चिमका विभिन्न क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको छ। आइतबार भएको झडपलाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

Tata
GBIME

इनरुवाबाट दक्षिणको देवानगञ्ज-३ कप्तानगन्जमा आइतबार बेलुकी दुई समुदायबीच झडप भएको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना स्थानीय र १३ जना सुरक्षाकर्मी घाइते भएका थिए। बोलबमको तीर्थ निस्केको टोलीले ठूलो साउण्डमा गानाबजाना गर्दै हिँडेका विषयमा भएको विवाद झडपमा परिणत भएको थियो।

जिल्ला प्रशासनले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। इलाका (क) अन्तर्गत भण्टाबारी बजार क्षेत्रमा पूर्वतर्फ जुनिया टोल, पश्चिमतर्फ पश्चिम घुस्की धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

साथै इलाका (ख) घुस्की बजार क्षेत्रमा पूर्वतर्फ मोरङ्गा धार खोला, पश्चिमतर्फ इङ्गिलस फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालय तथा इलाका (ग) कप्तानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौँ रिसाल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रमा कर्फ्यू आदेश लागेको छ। कार्यालयका अनुसार इलाका (घ) बस्ती बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ कासिमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर, दक्षिणतर्फ दिलशाद पब्लिक स्कुल तथा इलाका (ङ) (देवानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरिया खोला, उत्तरतर्फ बिड्रा मिल र दक्षिणततर्फ गापा कार्यालयसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

सुनसरी जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले जिल्लाका विभिन्न स्थानमा निषेध आदेश पनि जारी गरेको छ। हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा उक्त आदेश जारी गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरिएको कार्यालयले जनाएको छ।