काठमाडौं। टीभीएस मोटरले नेपाली बजारमा आफ्नो दोस्रो विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ।
कम्पनीले यसको सुरुआती मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको छ। यो विशेषगरी दैनिक सहरी आवागमनलाई लक्षित गर्दै ल्याइएको इन्ट्री लेभलको ई-स्कुटर हो।
कम्पनीका अनुसार अर्बिटरमा ३.१ किलोवाट आवर क्षमताको आइपी६७-रेटेड लिथियम-आयन ब्याट्री छ। यसले आइडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
वास्तविक सडक अवस्थाको आधारमा भने यसको रेन्ज करिब ११५ देखि १२० किलोमिटर रहने दाबी गरिएको छ। ब्याट्रीलाई ० देखि ८० प्रतिशत चार्ज गर्न ४ घण्टा १० मिनेट लाग्नेछ।
स्कुटरमा २.५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले अधिकतम ६८ किमि प्रति घण्टाको गति दिन्छ। साथै, ० देखि ४० किमी प्रति घण्टाको गति केवल ६.८ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ।
अर्बिटरको लम्बाइ १८५० मिमि, चौडाइ ७३४ मिमि र उचाइ १२९४ मिमि छ। यसमा १६५ मिमि ग्राउन्ड क्लियरेन्स, ७६३ मिमि सिट हाइट, ११२ किलोग्राम कर्ब तौल तथा ३४ लिटर क्षमताको अन्डर-सिट बुट स्पेस उपलब्ध छ।

यो स्कुटरमा ५.५ इन्चको एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, ओभर-द-एयर सफ्टवेयर अपडेट, जियोफेन्सिङ, एन्टी-थेफ्ट सिस्टम, क्र्यास तथा फल डिटेक्सनसँगै अटो मोटर कटअफ लगायतका स्मार्ट प्रविधि समावेश गरिएको छ।
यसका अतिरिक्त स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र ठूलो ३४ लिटरको बुट स्पेस पनि उपलब्ध गराइएको छ। कम्पनीले अर्बिटरमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी प्रदान गर्ने जनाएको छ।










