काठमाडौं। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यसहित सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि उपयोग ऐन र भूमि उपयोग नियमावलीको व्यवस्थाअनुसार प्रयोगविहीन निजी जग्गालाई स्थानीय तहमार्फत उपयोगमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो।
कानुनी व्यवस्था अनुसार मन्त्रालयले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि’ तयार गरी स्थानीय तहमा पत्राचार गरेको छ।
अब प्रत्येक स्थानीय तहले भूमि बैंक स्थापना गरी बाँझो जग्गा उत्पादनमूलक प्रयोजनमा प्रयोगमा ल्याउने प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ।









