विदेशबाट फर्किंदा यात्रुलाई सुनका गहना ल्याउन सहज, वर्गीकरण नगर्ने व्यवस्थाले तस्करीको जोखिम



बिजमाण्डू
२०८३ साउन ५ गते १८:४५ | Jul 21, 2026
विदेशबाट फर्किंदा यात्रुलाई सुनका गहना ल्याउन सहज, वर्गीकरण नगर्ने व्यवस्थाले तस्करीको जोखिम


काठमाडौं। नेपालीहरुलाई विदेशबाट स्वदेश फर्किंदा सुनका गहना ल्याउन सजिलो बनाइएको छ। सरकारले तोकिएको परिमाणमा भित्र्याउनका लागि गहनाको वर्गीकरण नगर्ने व्यवस्था गरेको छ।

Tata
GBIME

नयाँ व्यवस्था अनुसार नेपालीहरुले विदेशबाट ल्याएको सुनका गहना जस्तो भए पनि भन्सारबाट सहजै पास हुनेछ। यसअघि विमानस्थल भन्सार कार्यालयले सुनका गहनाको वर्गीकरण गर्ने गरेको थियो। गहनामा रसायन प्रयोग भए/नभएको पनि हेर्ने गरिएको थियो। अब गहनाका स्वरूपमा भएका सुन सहजै पास हुनेछ।

‘हामीले अब गहनाको वर्गीकरण गर्ने छैनौं। गहना हो भन्ने भएपछि तोकिएको परिमाणमा छ भने सहजै पास हुन्छ,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले भने।

यसअघि सामान्य आकार दिएर बनाएका औंठी, बाला, सिक्री जस्ता वस्तुलाई गहनाको मान्यता दिइएको थिएन। त्यसैले रसायन प्रयोग भए/ नभएको जाँच गर्ने गरिएको थियो। जसले गर्दा यात्रुहरू समस्या पर्दै आएका थिए।

आर्थिक ऐनको अनुसूची-४ मा रहेको  पैठारी सम्बन्धी विशेष व्यवस्थामा यसअघि सामान्य आकार मात्रै दिएर बनाइएका औंठी, बाला, सिक्री जस्ता वस्तुलाई गहनाको रुपमा मान्यता दिइने छैन भन्ने व्यवस्था हटाइएको छ। जसले गर्दा यात्रुलाई अब सुनका गहना ल्याउन सजिलो हुनेछ।

विदेशबाट फर्किने नेपालीले पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्। त्यो भन्दा बढी पहिलो ५० ग्रामसम्म ल्याउँदा प्रचलित दर अनुसार महसुल लाग्ने र ५० ग्राम भन्दा बढी थप ५० ग्राम भए प्रचलित दर अनुसारको महसुलका साथै थप तीन प्रतिशत लाग्ने व्यवस्था छ।

सरकारले गरेको व्यवस्थाले यात्रुलाई सहज भए पनि तस्करी बढ्ने जोखिम हुने भन्सारकै कर्मचारीले बताएका छन्। व्यापारीले अब यात्रुलाई प्रयोग गरेर सुन भित्र्याउने क्रम बढ्ने छ। ‘यसले वैधानिक रुपमा सुन आयात घटी राजस्वमा नै असर पर्नेछ,’ ती कर्मचारीले भने।

बजारमा किनबेच हुने सुन वाणिज्य बैंकहरुले आयात गर्ने गरेका छन्। व्यापारीहरुले बैंकसँग सुन किन्नुपर्छ। नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयातको कोटा तोकेको छ। तर पछिल्लो समय बैंकमा सुनको माग कम हुन थालेको छ।

कर्मचारीहरुका अनुसार विमानस्थल भन्सार कार्यालयले यसअघि झिटिगुन्टामार्फत भित्रिने दैनिक २ किलोसम्म सुन नियन्त्रणमा लिएर राजस्व उठाउने गरेकामा केही दिनयता एक किलोभन्दा कम परिमाणमा मात्र महसुल लिने गरेको छ।