भारतको सिक्किम नाम्ची जिल्लास्थित टिस्टा–६ जलविद्युत् आयोजनाका लागि निर्माणाधीन सुरुङभित्र सोमबार भएको विषाक्त ग्यास चुहावटको घटनामा सात मजदुरको मृत्यु भएको छ। सुरुङमा फँसेका २० जनाको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
टाइम्स अफ इन्डिया, पीटीआई र अन्य भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना दक्षिण सिक्किमको सामार्दुङ क्षेत्रमा निर्माणाधीन सुरुङभित्र भएको हो। सुरुङको प्रवेशद्वार नजिकै पहिरो खसेर आवतजावत अवरुद्ध भएपछि उद्धार कार्य थप जटिल बनेको थियो। त्यसपछि सुरुङभित्र ग्यास चुहावट भएको आशंका गरिएकाले उद्धारकर्मीले विशेष सुरक्षा उपकरण प्रयोग गरेर अभियान सञ्चालन गरेका थिए।
घटनापछि राष्ट्रिय तथा राज्यस्तरीय उद्धार टोलीले रातभर सञ्चालन गरेको अभियानपछि सबै मजदुरलाई सुरुङबाट बाहिर निकालिएको हो। प्रारम्भिक जानकारीअनुसार घटनाको समयमा २७ जना मजदुर सुरुङभित्र काम गरिरहेका थिए। उद्धार गरी अस्पताल लगिएकामध्ये अधिकांशको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
उक्त सुरुङ टिस्टा–६ जलविद्युत् आयोजनाको निर्माणाधीन संरचना हो। हिमाली भौगोलिक अवस्थाका कारण यस्तो सुरुङ निर्माण प्राविधिक रूपमा जटिल मानिन्छ। साँघुरो संरचना, कमजोर चट्टान, पहिरोको जोखिम तथा पर्याप्त हावा प्रवाह कायम राख्नुपर्ने चुनौतीका कारण यस्ता आयोजनामा सुरक्षा व्यवस्थालाई अत्यन्त संवेदनशील मानिन्छ।
घटनापछि सिक्किम प्रशासन, प्रहरी, राष्ट्रिय विपद् प्रतिकार बल (एनडीआरएफ) तथा अन्य प्राविधिक टोली घटनास्थलमा परिचालन भएका थिए। सुरुङभित्र ग्यासको मात्रा मापन गर्दै उद्धार कार्य गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ।










