काठमाडौं। गत आव २०८२/८३ मा आन्तरिकतर्फ कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
आन्तरिक राजस्व विभागले गरेको संकलनमध्ये २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ आयकर हो। आयकर ७.२२ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा २ खर्ब ५९ अर्ब ४३ करोड आयकर संकलन भएको थियो।
मूल्य अभिवृद्धि कर (भ्याट)को वृद्धिदर ३.८६ प्रतिशत छ। विभागले गत आवमा १ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ भ्याट संकलन गरेको छ। अघिल्लो आव २०८१/८२ मा १ खर्ब ४६ अर्ब ८७ करोड संकलन भएको विभागले जनाएको छ।
त्यसैगरी आन्तरिकतर्फ अन्त:शुल्क संकलन ११ प्रतिशतले बढेको छ। अघिल्लो आवमा आन्तरिकतर्फ १ खर्ब २२ अर्ब ३ करोड अन्त:शुल्क संकलन भएकामा गत आवमा १ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ उठेको विभागको तथ्यांक छ।
ब्याज कर संकलन १३.७५ प्रतिशतले कमी भएको छ। ब्याजकर अघिल्लो आवमा ३० अर्ब २५ करोड उठेकामा गत आवमा २६ अर्ब ९ करोड संकलन भएको विभागले जनाएको छ। बैंकको ब्याजदरमा निरन्तर आएको गिरावटले ब्याजबाट हुने आम्दानी घटेको कर प्रशासकहरू बताउँछन्।
गत वर्ष स्वास्थ्य सेवा कर ६ अर्ब ५२ करोड संकलन भएको छ। अघिल्लो आवमा ३ अर्ब ६१ करोड संकलन भएको थियो। यो शुल्कमा चरोट, बिँडीलगायतमा लाग्ने स्वास्थ्य जोखिम करसमेत जोडिएको छ।
अघिल्लो आवमा शिक्षा सेवा शुल्क ३ अर्ब ६१ अर्ब उठेकामा गत आवमा ३ अर्ब ९४ करोड ४४ लाख संकलन भएको छ। घरबहाल कर २ अर्ब ९० करोडबाट २ अर्ब ८१ करोड ७५ लाखमा झरेको छ।









