काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (बायोलोजिक माइक्रोस्कोप) हस्तान्तरण गरेको छ।
रेडक्रसको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चितताका लागि रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने उद्देश्यले उक्त उपकरण प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुर्याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
यस सहयोगमार्फत बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवर्धनमा योगदान पुग्ने विश्वास लिएको छ।










