आइपीओ ल्याएर इतिहास बनाएका मस्कको चलाखी, एकै महिनामा कसरी मूल्य ‘डाउनफल’?



बिजमाण्डू
२०८३ असार ३० गते ०६:१४ | Jul 14, 2026
आइपीओ ल्याएर इतिहास बनाएका मस्कको चलाखी, एकै महिनामा कसरी मूल्य ‘डाउनफल’?


काठमाडौं । धनाढ्य इलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना आइपीओ निष्कासन गरेको थियो। सो ऐतिहासिक आइपीओ सार्वजनिक भएसँगै मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने। तर, १० खर्ब डलर सम्पत्तिका मालिकको उपाधि मस्कले छोटो समयमा नै गुमाए।

Tata
GBIME
Nepal Life

नास्डाक एक्सचेन्जमा कम्पनी सूचीकृत भएको दुई हप्ता पनि नपुग्दै प्रविधि क्षेत्रका सेयरहरुमा आएको भारी गिरावटसँगै मस्कको सम्पत्ति पनि ओरालो लागेको हो।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कूल सम्पत्ति हाल ९५७ अर्ब अमेरिकी डलरमा झरेको छ। आइपीओ आएसँगै जुन महिनाको मध्यतिर उनको सम्पत्ति १.११ ट्रिलियन डलरको उच्च विन्दुमा पुगेको थियो।

एक महिनाको अन्तरालमा ठुलो घाटा भए पनि मस्क अझै पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमै कायमै छन्।

गएको जुन १२ मा मस्कको रकेट तथा भूउपग्रह कम्पनी ‘स्पेसएक्स‘ अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो। कम्पनीले प्रतिसेयर १३५ डलर मूल्य तय गरे पनि बजार खुल्नासाथ यसको मूल्य १५० डलर पुगेको थियो।

सो ऐतिहासिक डेब्युले स्पेसएक्सको कुल बजार मूल्याङ्कन १.७७ ट्रिलियन डलरभन्दा माथि पुर्‍यायो। स्पेसएक्समा मस्कको करिब ४२ प्रतिशत हिस्सा रहेका कारण उनको सम्पत्तिले कारोबार सुरु भएसँगै १ ट्रिलियन डलरको आँकडा पार गरेको थियो। लगानीकर्ताहरुको तीव्र उत्साहका कारण जुन १६ सम्ममा स्पेसएक्सको सेयर मूल्य बढेर प्रतिसेयर २२५.६४ डलरको उच्च विन्दुमा पुगेको थियो। त्यससँगै मस्कको नेटवर्थ१.३२ ट्रिलियन डलरको कीर्तिमानी उचाइमा पुगेको थियो।

Photo: Algi Febri Sugita/ZUMA Press Wire/REX/Shutterstock

स्पेसएक्सको आइपिओमा लगानीकर्ताहरु ओइरिनुको कारण पछि त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडेर हेरिनु मुख्य कारक थियो।

स्पेसएक्सले यसै वर्ष मस्ककै एआई स्टार्टअपलाई अधिग्रहण गरेर ‘स्पेसएक्सएआई’ नाम दिएको थियो। साथै कम्पनीले अन्य प्रविधि कम्पनीहरुलाई डेटा सेन्टरको क्षमता भाडामा पनि दिन थालेको थियो।

तर, एआई पूर्वाधारमा भइरहेको भारी खर्च र ब्याजदरको अनिश्चितताका कारण समग्र विश्व बजारमा प्रविधि क्षेत्रका सेयरहरु ओरालो लाग्न थाल्यो। एनभिडिया, इन्टेल र एएमडीको सेयर मूल्य घट्दा स्पेसएक्स पनि सो ट्रेन्डबाट अछुतो रहन सकेन।

जुन २२ का दिन स्पेसएक्सको सेयरमा एकैदिन १६ प्रतिशतको गिरावट आयो। यसले मस्कको एकैदिन २४० अर्ब डलर घट्यो। त्यसको भोलिपल्टै उनको अर्को कम्पनी टेस्लाको सेयर पनि ६ प्रतिशतले घट्यो।

मस्कको सम्पत्ति धेरैवटा कम्पनीको स्वामित्वमा आधारित नभइ दुई कम्पनीमा मात्रै केन्द्रित भएको बताइन्छ। ८० प्रतिशत स्पेसएक्स र १२ प्रतिशत टेस्लामा उनको सम्पत्ति निर्भर छ। जसकारण बजारको सामान्य हलचलले पनि उनको सम्पत्तिमा ठुलो उतारचढाव ल्याउने गर्छ।

Photo: Slaven Vlasic / Getty Images via AFP

आइपिओ जारी भएको एक महिना पुग्दा स्पेसएक्सको सेयर मूल्य हाल १४५ डलरको आसपासमा कारोबार भइरहेको छ। यो यसको उच्च विन्दुभन्दा झन्डै ३५ प्रतिशतको गिरावट हो।

सुरुवाती दिनहरुमा महँगोमा सेयर किनेका सर्वसाधारण लगानीकर्ताहरु अहिले घाटामा छन्। अनुसन्धान संस्था सीएफआरएका विश्लेषक कीथ स्नाइडरका अनुसार स्पेसएक्सको सुरुवाती उछाल ‘मिम स्टक’ जस्तै देखिएको थियो।

कम्पनीको वास्तविक व्यावसायिक प्रदर्शनका आधारमा यो अझै घटेर ११५ डलरसम्म पुग्न सक्ने उनको अनुमान छ।

यद्यपि, मस्कले भने कम्पनीको भविष्यप्रति दृढ विश्वास व्यक्त गरेका छन्। उनले सन् २०३० सम्ममा स्पेसएक्सको वार्षिक आम्दानी १ ट्रिलियन डलर पुग्ने दाबी गरेका छन्। जबकी गत वर्ष कम्पनीको आम्दानी मात्र १८ अर्ब डलर थियो।

मस्कले सेयरको उतारचढावलाई आफ्नो फाइदाका लागि समेत प्रयोग गरिसकेका छन्। जुन १६ मा सेयर मूल्य उच्च रहेका बेला स्पेसएक्सले एआई कोडिङ बोट निर्माता कम्पनी ‘कर्सर’ लाई ६० अर्ब डलरको ‘अल स्टक’ डिलमार्फत खरिद गरेको थियो। यसलाई धेरैले मस्कको चलाखी पनि भनेका छन्।

वित्तीय क्षेत्रका जानकारहरु भने यस गिरावटलाई क्षणिक भनिरहेका छन्। मोर्गन स्ट्यान्लीले स्पेसएक्सको लक्ष्य मूल्य ३०० अमेरिकी डलर प्रक्षेपण गरेको छ। जुन हालको मूल्यभन्दा दोब्बर बढी हो।

अब सबैको ध्यान अगस्ट महिनाको सुरुवातमै स्पेसएक्सको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनमा छ। यसले अब मस्क र उनको कम्पनीको वास्तविक चित्र देखाउने विश्वास लिइएको छ।

यही समयमा कम्पनीका कर्मचारीहरुले बोनस वा मुआब्जाका रुपमा पाएको सेयर बजारमा बेच्न पाउने प्रतिबन्ध अवधि पनि समाप्त हुँदै गरेको बताइन्छ। यससँगै बजारमा थप सेयरहरु आउने र वास्तविक वित्तीय अवस्था बाहिरिने अपेक्षा छ। त्यसैले आगामी दिनमा स्पेसएक्सको सेयर र मस्कको सम्पत्तिमा फेरि ठुलो उथलपुथल देखिन सकिनेछ।