टोकियो। जापानले पुनः प्रयोग गर्न मिल्ने (रियुजेबल) रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तरिक्षमा सामग्री पठाउने लागत घटाउँदै विश्व अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बन्ने लक्ष्यसहित गरिएको यो परीक्षणलाई जापानका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
हाल विश्व अन्तरिक्ष प्रक्षेपण बजारमा अमेरिकी कम्पनी स्पेसएक्सको अग्रता छ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले विकास गरिरहेको ‘आरभी–एक्स’ रकेटले शनिबार उत्तरपूर्वी जापानको नोशिरो परीक्षण केन्द्रबाट उडान भरेको थियो। रकेटले उडानपछि केही समय स्थिर रूपमा आकाशमा होभर गर्दै तेर्सो दिशामा सरेर सुरक्षित अवतरण गरेको थियो। यो सम्पूर्ण परीक्षण करिब एक मिनेटभन्दा कम समय चलेको थियो।
जाक्साका पुनः प्रयोग गर्न मिल्ने रकेट परियोजनाका प्रबन्धक ताकाशी इतोका अनुसार रकेटले पूर्वनिर्धारित योजना अनुरूप ११ मिटर उचाइसम्म उडान भरेको थियो। त्यसपछि रकेटले आफ्नो सन्तुलन कायम राख्दै १६ मिटर तेर्सो दूरी पार गरी सुरक्षित रूपमा अवतरण गरेको उनले जानकारी दिए।
जापानले अन्तरिक्ष प्रक्षेपणको लागत घटाउन र व्यावसायिक रूपमा प्रतिस्पर्धी बन्न स्पेसएक्सले विगत केही वर्षदेखि प्रयोग गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधि विकास गर्न प्रयास गरिरहेको छ। यही लक्ष्यका लागि गरिएको यो परीक्षणलाई भविष्यमा कम लागतमा अन्तरिक्षमा सामग्री पठाउने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।
यो परीक्षण चीनले पनि पहिलो पटक रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको दाबी सार्वजनिक गरेको भोलिपल्ट भएको हो। यसले अन्तरिक्ष प्रविधिमा एसियाली मुलुकहरूबीच प्रतिस्पर्धा बढेको संकेत गरेको छ।
हाल जापानले प्रयोग गर्दै आएको एच–३ रकेट अघिल्लो एच–२ए शृंखलाको तुलनामा कम लागतमा सञ्चालन हुने गरी विकास गरिएको भए पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न अझै प्रक्षेपण खर्च घटाउन आवश्यक रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
जापान सरकारले अन्तरिक्ष कार्यक्रमलाई व्यावसायिक रूपमा सफल बनाउन र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न स्थिर तथा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमता अपरिहार्य रहेको बताउँदै आएको छ।
जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरिरहेको आरभी–एक्स रकेटको व्यास १.८ मिटर र लम्बाइ ७.३ मिटर छ। यसमा बढी टिकाउ इन्जिन तथा अवतरणका क्रममा झट्का कम गर्ने चारवटा विशेष ल्यान्डिङ गियर जडान गरिएको छ।
ताकाशी इतोका अनुसार रकेटको इन्जिनले हालसम्म १६५ पटक दहन परीक्षण सफलतापूर्वक पार गरिसकेको छ, जसले यसको टिकाउपन पुष्टि गरेको छ।
जाक्साले फ्रान्स र जर्मनीसँगको सहकार्यमा पनि पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा काम गरिरहेको छ। आगामी परीक्षणमा आरभी–एक्सलाई करिब १०० मिटर उचाइसम्म उडाएर थप परीक्षण गर्ने योजना रहेको जाक्साले जनाएको छ। (एपी)











