नेपालमा लगानी विस्तार गर्न यूएईका व्यवसायीलाई चन्द्र ढकालको आग्रह, ‘अहिले उपयुक्त समय’



बिजमाण्डू
२०८३ असार २६ गते १७:०९ | Jul 10, 2026
नेपालमा लगानी विस्तार गर्न यूएईका व्यवसायीलाई चन्द्र ढकालको आग्रह, ‘अहिले उपयुक्त समय’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष चन्द्र ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले यूएईका विदेश व्यापारमन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा रात्रिभोज राखेर नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएको बताए।

उनले नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, शहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग, औद्योगिक विकास तथा आपूर्ति शृङ्खलासम्बन्धी सेवाका क्षेत्रमा लगानीका अवसर रहेको बताए।

आइएमई ग्रुपका अध्यक्ष ढकालले दुई देशको सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता र संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनले पाँच दशकको अवधिमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति तथा लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।

उनले नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने लागेको अवसरलाई दुई देशबीचको आर्थिक साझेदारीलाई थप उचाइमा पुर्‍याउन उपयोग गर्नुपर्ने धारणा राखे।

ढकालले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बीआइए), दोहोरो करमुक्ति सम्झौता (डीटीएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सीइपीए) निकट भविष्यमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

ती सम्झौताले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने, निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशबीच व्यापार र लगानीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ छ।

ढकालले पर्यटन, जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने पनि बताए।