चांगनको प्रिमियम इन्टेलिजेन्ट ब्रान्ड नेभो नेपाल भित्र्याइँदै, नाडा अटो शोमा देखिने



बिजमाण्डू
२०८३ असार २६ गते १६:०६ | Jul 10, 2026
चांगनको प्रिमियम इन्टेलिजेन्ट ब्रान्ड नेभो नेपाल भित्र्याइँदै, नाडा अटो शोमा देखिने


काठमाडौं। चिनियाँ अटोमोबाइल कम्पनी चांगनको नयाँ इन्टेलिजेन्ट न्यू इनर्जी भेहिकल (एनईभी) ब्रान्ड ‘नेभो’ नेपाली बजारमा ल्याउने तयारी गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपालमा बढ्दो विद्युतीय सवारीको मागलाई लक्षित गर्दै नेभो ब्रान्ड भित्र्याउने तयारी गरिएको हो। नेपाली बजारमा चांगनको गाडी बिक्री गरिरहेको एमएडब्लू वृद्धिले ‘नेभो’ भित्र्याउन लागेको हो। कम्पनीका अनुसार यो गाडी अटो शोमा देख्न पाइनेछ।

नेभोले आफूलाई परम्परागत सवारीभन्दा फरक डिजिटल इन्टेलिजेन्ट अटोमोबाइल ब्रान्डका रुपमा विकास गरिरहेको छ।

कम्पनीका अनुसार नेभोले ग्राहकलाई सरल, सहज र स्मार्ट प्रविधिमा आधारित सवारी उपलब्ध गराउने लक्ष्य राखेको छ। नयाँ पुस्ताका चालकका लागि यात्रा अनुभवलाई पुनः परिभाषित गर्ने उद्देश्यसहित नेभोले डिजिटल प्रविधि, इन्टेलिजेन्ट ड्राइभिङ र ऊर्जा दक्षतामा केन्द्रित उत्पादन विकास गरिरहेको छ।

विदेशी बजारलाई लक्षित गर्दै चांगनले नेभोका ए०५ र क्यू०५ मोडलको रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक भेहिकल(आरईईभी) संस्करण समेत सार्वजनिक गरिसकेको छ। आरईईभी प्रविधिमा पेट्रोल इन्जिनले गाडी चलाउने काम गर्दैन, बरु ब्याट्री चार्ज गर्नका लागि जेनेरेटरको रुपमा मात्र प्रयोग हुन्छ।

सवारीलाई पूर्णरुपमा विद्युतीय मोटरले संचालन गर्ने भएकाले यसले इलेक्ट्रिक ड्राइभिङको अनुभवसँगै लामो दूरी यात्रा गर्न सहज बनाउने छ। यसले रेन्ज एन्जाइटी हुँदैन।

चांगन पछिल्लो समय विश्व बजारमा विद्युतीय तथा स्मार्ट मोबिलिटी क्षेत्रमा आक्रामक रुपमा विस्तार भइरहेको छ। नेभोको प्रवेशपछि नेपाली अटो बजारमा नयाँ पुस्ताका इन्टेलिजेन्ट इलेक्ट्रिक भेहिकलको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।