काठमाडौं । लिपमोटर बी०३ इलेक्ट्रिक एसयूभी ’नाइमा मोबिलिटी एक्स्पो’ मा नेपालमा आउने अपेक्षा गरिएको छ।
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक र एकमात्र आयातकर्ता सांग्रिला मोटर्स प्रा. लि. ले पहिलो लिपमोटर बी०३ चीनबाट आधिकारिक रूपमा प्रस्थान गरिसकेको र नेपालतर्फ आउने क्रममा रहेको जनाएको हो।
चिनियाँ बजारमा ए१० र नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर बी०३ इलेक्ट्रिक एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमाआधारित रहेको छ। यसमा १०० किलोवाट पिकमोटरद्वारा संचालित फ्रन्टह्विल ड्राइभ प्रणाली रहेको छ। यसले २०० एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ।
यस गाडीमा १८ इन्चको एलोयह्विल, तथा १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता फिचर छन्।
यो मोडल दुईवटा भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसमा फरक फरक ब्याट्री क्षमता र सुविधाहरुमा केही भिन्नता हुने जनाइएको छ। बी०३ को चिनियाँ संस्करण ए१० ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।
यसका कारण यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ९३ हजार ३७६ युनिट पुगेको जनाइएको छ। यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।











