कानुनमन्त्री गौतम अनुपस्थित भएपछि संसद्को कार्यसूची प्रभावित, अघि बढेनन् दुई विधेयक



बिजमाण्डू
२०८३ असार २४ गते १६:४६ | Jul 8, 2026
कानुनमन्त्री गौतम अनुपस्थित भएपछि संसद्को कार्यसूची प्रभावित, अघि बढेनन् दुई विधेयक


काठमाडौं। कानुनमन्त्री सोविता गौतम अनुपस्थित भएपछि प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूची प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा राष्ट्रिय सेवा दल र नेपाल विशेष सेवा ऐन जगाउने विधेयक प्रस्तुत गर्ने कार्यसूची प्रभावित भएको हो।

नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सभामुखको अवहेलना हुने शब्द बोलेपछि स्थगित भएको बैठक फेरि सुरु भएको थियो।

बैठकमा कार्यसूची अनुसार विनियोजन विधेयकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सचिव प्रकाश अधिकारीले जानकारी गराए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरे। बैठकले दुवै प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो।

तर कानुनमन्त्री गौतम उपस्थित नभएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे। त्यसपछि पनि गौतम अनुपस्थित भएपछि संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन्।

‘उहाँ आउनुहुन्छ भनेर कार्यसूचीमा राखिएको थियो। तर कानुनमन्त्री अन्तिमसम्म पनि आउनु भएन। अरु मन्त्रीलाई प्रस्तुत गर्न जिम्मा दिएको रहेनछ। त्यसकारण हामीले बैठक स्थगित गरेका छौं,’ सचिवालयका एक पदाधिकारीले भने।

प्रतिपक्षी दलहरुले मन्त्रीको अनुपस्थितिले कार्यसूची प्रभावित हुनुलाई सरकारको गैरजिम्मेवारी भनेका छन्।

‘सरकारपक्ष जिम्मेवार हुनुपर्ने हो। कानुन मन्त्री नआएपछि बैठक भोलिसम्मका लागि रोकियो। यो गैरजिम्मेवारी हो सरकारको,’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले भने।