३० वर्षमा ४९ अर्ब रुपैयाँ बढी घुस, चीनमा पूर्व नगर अधिकारीलाई सुनाइयो मृत्युदण्ड सजाय



बिजमाण्डू
२०८३ असार २३ गते १२:११ | Jul 7, 2026
३० वर्षमा ४९ अर्ब रुपैयाँ बढी घुस, चीनमा पूर्व नगर अधिकारीलाई सुनाइयो मृत्युदण्ड सजाय
Photo : CCTV/BBC


चीनको एक अदालतले २ अर्ब २० करोड युआन बढी (आजको विनिमय दर अनुसार करिब ४९ अर्ब ३० करोड रुपैयाँ) घुस लिएको अभियोगमा एक पूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

Tata
GBIME
Nepal Life

सन् १९९३ देखि २०२३ सम्म नानजिङ सहरमा कार्यरत ६९ वर्षीय याङ युनिनलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरण को मुद्दामा दोषी ठहर गरिएको हो।

३ दशकसम्म सो सहरको विभिन्न ओहोदामा रहेर काम गरेका उनीमाथिको भ्रष्टाचार मुद्दा चीनमा पछिल्लो समय सार्वजनिक भएको सबैभन्दा ठूला काण्डमध्ये एक हो।

याङले आफ्नो पदको दुरुपयोग गर्दै रकम र बहुमूल्य वस्तुको विनिमयमा अन्य व्यक्तिहरूलाई इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण र वित्तीय सहायता दिलाउन भूमिका खेलेको ठहर गरिएको छ।

राष्ट्रपति सी चिनफिङले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत याङमाथि अनुसन्धान गरिएको जनाइएको छ।

यो अभियानले चीनको राजनीतिक वित्तमा मात्रै नभइ त्यहाँको सैन्य क्षेत्र र उच्च तहको बैंकिङ क्षेत्रमा समेत ठूलो हलचल ल्याएको छ।

चीनमा वित्तीय अपराधका लागि मृत्युदण्डको सजाय विरलै दिइने गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। तर, १ अर्ब युआनभन्दा बढीको ठूलो रकम जोडिएका घटनाहरूमा भने कहिलेकाहीँ यस्तो कडा सजाय सुनाउने गरिएको जनाइएको छ।