आधा दर्जन स्टार्टअप उद्यमीलाई परिषद्को सम्मान, जनही २/२ लाख रुपैयाँको पुरस्कार



बिजमाण्डू
२०८३ असार २० गते ११:२५ | Jul 4, 2026
आधा दर्जन स्टार्टअप उद्यमीलाई परिषद्को सम्मान, जनही २/२ लाख रुपैयाँको पुरस्कार


भक्तपुर। राष्ट्रिय युवा परिषद्ले ६ जना सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई सम्मान गरेको छ। उनीहरुलाई जनही २/२ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।

Tata
GBIME
Nepal Life

यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौंका रविकिरण श्रेष्ठ पुरस्कृत भएका हुन्।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्दै नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यधिक रहेको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने धारणा राखे। भदौ २४ पछि बनेको नयाँ सरकारसँग नागरिकले आर्थिक उपलब्धि खोजिरहेका बताउँदै सरकारले यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम् सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मानस्वरुप ६ जनालाई पुरस्कृत गरिएको बताए। पुरस्कार वितरण कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले मुलुकको समृद्धिका लागि ‘स्टार्टअप’ व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा आवेदन दिएका मध्येबाट १५ वटा व्यवसायी छनोट गरी शुक्रबार कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो। रासस