काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि ९६६ वटा परियोजना छनोट गरेको छ।
प्रतिष्ठानले वित्तीय विवरण, प्रस्तुतिकरण, प्रश्नोत्तर, फोटो, भिडियो लगायतलाई आधार मानेर ९६६ वटा परियोजना छनोट गरेको हो। स्टार्टअप उद्यम कर्जाका लागि ११५६ परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए।
छनोट भएका परियोजना प्रस्तावकले राष्ट्रिय वाणिज्य बैंकबाट स्टार्टअप उद्यम कर्जा पाउनेछन्। कुन परियोजनालाई कति कर्जा दिन्ने भन्ने विवरण आफूले बैंकमा पठाइसकेको भन्दै प्रतिष्ठानले तीन दिनभित्र बैंकको तोकिएको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
यसअघि सहुलियतपूर्ण कर्जा लिएर चुक्ता नगरेकाहरुले भने प्रतिष्ठानको छनोटमा परे पनि स्टार्टअप उद्यम कर्जा पाउने छैनन्। त्यसका लागि सहुलियतपूर्ण कर्जा चुक्ता गर्नुपर्नेछ।
असार मसान्त पश्चात परियोजना प्रस्ताव र सिफारिस रकम स्वत: निष्कृय हुने प्रतिष्ठानले जनाएको छ।










