काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो। समायोजित मूल्य असार १७ गते राति १२ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार पेट्रोलमा २०, डिजेल र मट्टितेलमा ३० र हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ। यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर २६५ ले मूल्य घटाइएको छ। एलपी ग्यासमा सिलिन्डरको एक सय रुपैयाँ भाउ घटाइएको निगमले जनाएको छ।
समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १९४ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रोमा क्रमशः १९६ र १९७ रुपैयाँमा कारोबार हुनेछ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १९४ र १९५ रुपैयाँमा कारोबार हुनेछ। एलपी ग्यास सिलिन्डरको दुई हजार ६० रुपैयाँ कायम हुनेछ।
आईओसीबाट निगमलाई मंगलबार प्राप्त पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा र हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा मूल्य घटेर आएको छ।










