आधुनिक सार्वजनिक सवारी साधनका लागि २५ अर्बको कोष प्रस्ताव, ६०० वटा बस चलाइने



बिजमाण्डू
२०८३ असार १६ गते ११:४८ | Jun 30, 2026
आधुनिक सार्वजनिक सवारी साधनका लागि २५ अर्बको कोष प्रस्ताव, ६०० वटा बस चलाइने

काठमाडौं। निजी क्षेत्रले आधुनिक सार्वजनिक सवारीसाधन चलाउन २५ अर्ब रुपैयाँको कोष खडा गर्न प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्रिय यातायात सेवा प्रालिले अन्तर्राष्ट्रियस्तरका आधुनिक सार्वजनिक सवारीसाधन चलाउन भन्दै २५ अर्ब रुपैयाँको कोष खडा गर्न प्रधानमन्त्री कार्यालयसामु प्रस्ताव गरेको हो।

प्रस्तावमा ६०० वटा आधुनिक बस चलाउने भनिएको छ। नारायणी पूर्वमा २००, नारायणी पश्चिममा २०० र काठमाडौं उपत्यकासहित कोदारी-केरुङमा २०० वटा बस संचालन गर्ने प्रस्ताव छ।

बस पार्किङ गर्न विभिन्न स्थानमा करिब ४०० रोपनी जग्गा खरिद गर्नुपर्नेछ। कोषमा सुरुमा १० अर्ब, ३ महिनापछि ५ अर्ब, त्यसपछि ५ अर्ब र अन्तिममा ५ अर्ब लगानी गर्ने प्रस्ताव छ। कोषमा लगानीको स्रोत आन्तरिक, बैंकिङ, वैदेशिक कर्जा र अनुदान हुन सक्नेछ।

कोषले १५ वर्षमा साँवा ब्याज भुक्तानी गर्नुपर्नेछ। साँवा ब्याज दैनिकरुपमा नै भुक्तानी गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। ब्याजदर ३ देखि ५ प्रतिशत राख्न प्रस्ताव गरिएको छ। ६०० वटा आधुनिक बस सञ्चालन गर्दा प्रत्यक्ष रुपमा ३ हजार र अप्रत्यक्ष रुपमा १ लाख जनासम्मले काम पाउने दाबी गरिएको छ।

यात्रु सेवाका लागि बस, डिलक्स बस, मिनि माइक्रोबस र ट्याक्सी सञ्चालन गर्ने योजना छ। यस्तै १० वटा आधुनिक वर्कशप, टायर रिसोलिङ डिलरसिप, ७ वटा पेट्रोल पम्प र १० वटा चार्जिङ स्टेसन राख्न प्रस्ताव गरिएको छ।

कोष सञ्चालनमा लागि विज्ञसहित ११ जनाको बोर्ड गठन गर्ने प्रस्तावित योजनामा उल्लेख छ। प्रधानमन्त्री कार्यालयले पूर्वाधार विकास मन्त्रालयलाई यस विषयमा छलफल गरेर सुझाव दिन भनेको छ।