काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ चढ्ने गाडीमा टाँसिएको कालो प्लाष्टिक हटायो।
मन्त्री र सचिव चढ्ने गाडी ट्राफिक कार्यालयमा लगेर प्लाष्टिक निकालिएको थियो। प्रहरीले दुई दिनदेखि सार्वजनिक र निजी गाडीबाट कालो सिसा हटाउन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले कालो सिसा भएका गाडी अपराधका लागि प्रयोग भएको पाइएकाले हटाउन सुरु गरेको बताए।
‘कालो सिसा भएका कतिपय गाडी अपराधका लागि प्रयोग भएको पाइयो। त्यसैले अन्तर्राष्ट्रिय मापदण्डमा टेकेर हटाउने अभियान चालिएको हो,’ एसएसपी काफ्लले भने।
ट्राफिक प्रहरीले केही वर्ष अगाडि पनि कालो सिसा हटाउने अभियान चलाएको थियो। कतिपय गाडीमा आयात गरेपछि सिसामा कालो प्लाष्टिक राख्ने गरिएको छ भने कतिपय गाडीमा उत्पादनका बेला नै कालो सिसा राख्ने गरिएको छ।

ट्राफिक प्रहरीले गाडीको कालो सिसा हटाउन अटो व्यवसायीसँग सहयोग मागेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पदाधिकारीलाई बोलाएर कालो सिसा हटाउनका लागि सहयोग मागेको हो।
एसएसपी काफ्लेले अटो व्यवसायीहरुसामु कालो सिसा भएका सवारी साधन विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भएको देखिएकोले सवारी ऐन २०४९ मा भएको व्यवस्था अनुसार हटाउने अभियान थालेको बताए।
उनले सवारी साधन प्रयोगकर्ताले गाडीको अगाडीको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेको भन्दै यसबारेमा खरिदकर्तालाई जानकारी दिन आयातकर्तासँग आग्रह गरे।
एसएसपी काफ्लेले कालो सिसा प्रयोग गर्न सरकारको अनिवार्य अनुमति लिनु पर्ने भन्दै अब आइन्दा उत्पादक कम्पनीबाट कालो सिसा भएका सवारी साधन आयात नगर्न व्यवसायीहरुको ध्यानाकर्षण गराए।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनमा कालो स्टिकर (फिल्म) हटाउन प्राविधिक रुपमा खासै समस्या नरहेको बताए।
यस्तै नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या खासै धेरै नभएकोले यकिन गरेर हटाउने प्रतिबद्धता जनाए।











