नेटवर्क आधुनिकीकरणलाई तीव्रता दिँदै एनसेल, १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्ने

बिजमाण्डू
२०८३ असार १५ गते १२:४० | Jun 29, 2026
नेटवर्क आधुनिकीकरणलाई तीव्रता दिँदै एनसेल, १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्ने


काठमाडौं। एनसेलले देशभर दूरसञ्चार सेवाको आधुनिकीकरणलाई तीव्रता दिँदै चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने भएको छ।

Vigo
GBIME
Tata

एनसेलले १३ जिल्लामा संचालनमा रहेका २२० भन्दा बढी टावरबाट असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने जनाएको छ।

कम्पनीका अनुसार थ्रीजी सेवा बन्द भएसँगै भ्वाइस सेवा अब फोरजीमा आधारित ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) प्रविधिमार्फत उपलब्ध हुनेछ। यसबाट ग्राहकले अझ स्पष्ट भ्वाइस कल, छिटो कल कनेक्सन तथा उच्च गुणस्तरको मोबाइल डेटा सेवाको अनुभव लिन सक्नेछन्।

हाल धेरै ग्राहकसँग फोरजी सिमकार्ड र फोरजी सपोर्ट गर्ने मोबाइल फोन भए पनि कतिपयले अझै थ्रीजी नेटवर्कमै सेवा प्रयोग गरिरहेका छन्। एनसेलले त्यस्ता ग्राहकलाई आफ्नो मोबाइलको सेटिङमा गएर भोल्टे सुविधा सक्रिय गर्न आग्रह गरेको छ।

एस्टरिस्क १२३ एस्टरिस्क ११ ह्यास डायल गरेर भोल्टे सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ। सेवा सक्रिय भएपछि मोबाइलको भोल्टे सेटिङ पनि अन गर्नुपर्छ।

एनसेलले देशभर फोरजी नेटवर्क विस्तार गरिरहेको छ। साथै, भविष्यमा फाइभजी सेवा संचालनको तयारीस्वरूप आवश्यक फ्रिक्वेन्सीको माग पनि गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार थ्रीजी सेवा बन्द गर्नु आधुनिक नेटवर्कतर्फको स्वाभाविक रुपान्तरण प्रक्रिया हो। यसबाट नेटवर्कको क्षमता बढ्नुका साथै ग्राहकले एउटै समयमा उच्च गुणस्तरको भ्वाइस कल र मोबाइल ब्रोडब्यान्ड सेवा हालकै शुल्कमा प्रयोग गर्न सक्नेछन्।

यसअघि गत माघमा पनि कम्पनीले कोशी प्रदेशका ३ जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गरेको थियो। सोही योजनाअनुसार अहिले थप जिल्लामा सेवा बन्द गर्न लागिएको हो।

यस चरणमा कोशी प्रदेशको उदयपुरका त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी, सङ्खुवासभाका चैनपुर, खाँदबारी र धर्मदेवी, धनकुटाको पाख्रीबास र साँगुरीगढी तथा भोजपुरको टेम्केमैयुङ र अरुण गाउँपालिकामा थ्रीजी सेवा बन्द हुनेछ।

त्यस्तै, मधेश प्रदेशको सप्तरीका सप्तकोशी र कञ्चनरूप नगरपालिकामा पनि थ्रीजी सेवा बन्द गरिनेछ। कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमका चौरजहारी, मुसिकोट र त्रिवेणी तथा सल्यानका शारदा, छत्रेश्वरी र बागचौरमा यो सेवा हटाइने भएको छ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वका सिस्ने र भूमे तथा रोल्पाका थबाङ र गंगादेव गाउँपालिकामा पनि थ्रीजी सेवा बन्द हुनेछ। यस्तै, बागमती प्रदेशको मकवानपुरका हेटौंडा, बकैया, मनहरी र राक्सिराङ क्षेत्रमा पनि कम्पनीले थ्रीजी नेटवर्क विस्थापन गर्ने जनाएको छ।

एनसेलका अनुसार देशभर फोरजी नेटवर्कमार्फत भोल्टे सेवा उपलब्ध भइसकेको छ। यसको लाभ लिन फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिम वा ई-सिम तथा फोरजी नेटवर्क उपलब्ध भएको क्षेत्र आवश्यक पर्छ।

कुन-कुन मोबाइलमा भोल्टे सेवा उपलब्ध छ, कसरी सक्रिय गर्ने लगायतका विस्तृत जानकारी एनसेलको वेबसाइट र एनसेल एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।