काठमाडौं। सडकमा भइरहेको ट्राफिक कार्बाहीको जरिवानामा भारी वृद्धि प्रस्ताव गरिएको खबर बाहिर आइरहँदा काठमाडौं उपत्यकामा नियम उल्लंघन गर्नेको संख्या भने घट्न सकेको छैन। बितेका २४ घण्टामा १ हजार १ सय २ जना सवारीचालक नियम उल्लंघनको कारबाहीमा परेका छन्।
जसबाट जरिवानामा प्रहरीले २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व उठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, संकेत बत्ती उल्लंघन गर्ने ९९ र ओभर स्पीडमा कुदाउँदा ८३ जना कार्बाहीमा परेका छन्।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जना कारबाहीमा परेका छन्।
यसैगरी शुक्रबार बिहान जारी अघिल्लो २४ घण्टाको तथ्यांकअनुसार २ हजार ४ सय ३८ जना कार्बाहीमा परेका थिए। जरिवानामा २० लाख ७९ हजार रुपैयाँ उठेको थियो। बिहीबार २ हजार ५ सय १९ जना कार्बाहीमा पर्दा १९ लाख ३१ हजार ५०२ रुपैयाँ जरिवानाबापत उठेको थियो।











