रास्वपाको महाधिवेशन चितवनका व्यवसायीलाई फलिफाप, एक सातामा आधा अर्बको व्यापार



बिजमाण्डू
२०८३ असार १२ गते १६:०८ | Jun 26, 2026
रास्वपाको महाधिवेशन चितवनका व्यवसायीलाई फलिफाप, एक सातामा आधा अर्बको व्यापार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन चितवनका लागि आर्थिक रुपमा फलदायी भएको छ। महाधिवेशन प्रतिनिधिले चितवनम ५० करोडभन्दा बढीको व्यापार गराइदिएका छन्।

Tata
GBIME
Nepal Life

रास्वपाको महाधिवेशनमा आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले एक सातामा ५० करोडभन्दा माथिको व्यापार भएको बताए।

‘प्रतिनिधि र अरु कार्यकर्ताले भरतपुर र सौराहाका होटल शनिबारबाटै भरिएका थिए। महाधिवेशनका कारण चितवनका होटलमा एकैदिन २० हजारसम्म बसे जसले गर्दा ५० करोडभन्दा बढीको व्यापार भएको छ,’ उनले भने।

गौतम उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत हुन्। असार ७ गते सुरु भएको महाधिवेशनका लागि देशभरका प्रतिनिधि ५ गतेदेखि नै चितवनमा भेला भएका थिए। ७ गते सुरु भएको महाधिवेशन शुक्रबार सकिंदैछ।

उनका अनुसार आवासमा मात्र २० करोड रुपैयाँ खर्च भएको छ। महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि रहेकामा उद्‍घाटनको दिन विभिन्न जिल्लाबाट रास्वपाका कार्यकर्ता ठूलो संख्यामा चितवन पुगेका थिए। भरतपुर र सौराहाका होटल रास्वपाका कार्यकर्ता भरिएका थिए। महाधिवेशन प्रतिनिधिलाई चार दिनसम्म खानाको व्यवस्था पार्टीले गरेको थियो। त्यसबापत पार्टीले मात्र ४ करोडभन्दा बढी खर्च गरेको छ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले रास्वपाको महाधिवेशनले होटल रेष्टरेन्ट लगायत व्यवसाय एक साता चलायमान भएको बताए। ‘महाधिवेशनका कारण होटल भरिभराउ मात्र भएनन्, दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूल तरकारी लगायतको राम्रो खपत भएको छ,’ उनले भने।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डे पनि भरतपुर र सौराहाका होटलले राम्रो व्यापार पाएको बताए।