त्रिशूली र चिलिमेको बिजुली बंगलादेशलाई, प्राधिकरणले पठाउन थाल्यो ४० मेगावाट



बिजमाण्डू
२०८३ असार १ गते १८:०३ | Jun 15, 2026
त्रिशूली र चिलिमेको बिजुली बंगलादेशलाई, प्राधिकरणले  पठाउन थाल्यो ४० मेगावाट

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वर्षाका कारण उत्पादन बढेसँगै यो सिजन पनि बंगलादेशमा बिजुली बेच्न थालेको छ। प्राधिकरणले गए रातिदेखि बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणमा विद्युत व्यापार विभागका उपकार्यकारी निर्देशक थर्कबहादुर थापाले बंगलादेशमा यो सिजन पनि गए रातिबाट बिजुली निर्यात गर्न थालेको बताए।

‘हामीले गए रातिदेखि बंगलादेशमा बिजुली निर्यात गर्न थालेका हौं। २४ घण्टा नै बिजुली निर्यात हुन्छ,’ उनले भने, ‘हामीले आगामी नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्छौं।’

प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट बिजुली बंगलादेशमा निर्यात गरिएको हो।

नेपालले बंगलादेशलाई प्रति युनिट ६.४० अमेरिकी सेन्ट दरमा बिजुली बिक्री गर्दै आएको छ। नेपालले बंगलादेशमा पहिलो पटक २०८१ कात्तिक ३० गते १२ घण्टाका लागि बिजुली निर्यात गरेको थियो।

नेपालले त्रिपक्षीय सम्झौताअनुसार ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको बेहरामपुर–भेडामारा ४०० केभी लाइनमार्फत बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म विद्युत पठाएको छ।

२०८१ असोज १७ मा विद्युत् प्राधिकरण, बंगलादेशको बीपीडीबी र भारतको एनभीभीएनबीच त्रिपक्षीय सम्झौता भएको थियो। त्यसयता प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने गरेको छ।