काठमाडौं। बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरु उपस्थित नभएको भन्दै एमाले सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
राईले मन्त्री उपस्थित हुनुपर्ने संसदीय परम्परालाई तोड्न नहुने भन्दै आफू बाध्य भएर उभिएको बताए। ‘मलाई त बाहिर पत्रकारले पनि प्रश्न गर्छन्। जनताले पनि गर्छन् मैले कसरी जान मिल्छ सभामुखज्यू। तपाइँ विधि बसाल्न आउनुभएको छ,’ राईले भनेका थिए।
उनले आफूले कुरा राख्दा सम्बन्धित मन्त्री नभएको भन्दै जनताले प्रश्न गर्ने भएकाले आफू बोल्न नसक्ने बताए। सभामुख डोलप्रसाद अर्यालले पटक पटक विषयवस्तुमा अघि बढ्न आग्रह गरेकामा राईले अस्वीकार गरे।
‘यसो गर्नु भएन। थिति बिगार्नु भएन। मन्त्री नभए म अगाडि बढ्न सक्दै सक्दिन। रास्वपा त थिति बसाल्ने पार्टी हो,’ राईले भने। राईले रोस्टममै उभिएर सभामुखसँग सवालजवाफ गरेपछि सभाको माहोल रमाइलो बनेको थियो।
उनले केही गरे पनि आफू रोस्टमबाट नजाने अडान राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा महिला, बालबालिकामन्त्री सीता वादी र कृषिमन्त्री गीता चौधरी मात्रै उस्थिति थिए। ९ मन्त्रालयको बजेटमाथिको छलफलमा बाँकि ७ मन्त्री बैठकमा थिएनन्।











