काठमाडौं। आइएमईले रेमिटेन्स तथा अन्य वित्तीय सेवालाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
आइएमईका अध्यक्ष हेमराज ढकालले कम्पनीको २६औं वार्षिकोत्सवका अवसरमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा नवीनतम प्रविधि आत्मसात् गर्ने बताए।
उनले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ र ‘आइएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापितभएको बताए। उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने बताए। आइएमईले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।











