काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यको छनोटको निर्णय पुनः गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई परमादेश आदेश जारी गरेको छ। योग्यता क्रममा अघि रहेको व्यक्तिलाई बिना आधार र कारण नियुक्त नगरी निर्णय पिक एण्ड चुजका आधारमा निर्णय भएको भन्दै अदालतले सो आदेश गरेको हो।
सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रिया कानुनसम्मत नभएको र आफू पहिलो नम्बरमा हुँदाहुँदै नियुक्ति नदिएको भन्दै उपेन्द्र कार्कीले सर्वोच्चमा रिट दर्ता गरेका थिए।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मन्त्री खडकराज पौडेलको निर्णयलाई पिक एण्ड चुजमा आधारित भएको टिप्पणी समेत गरेको छ। अदालतले मन्त्री पौडेलको निर्णयलाई सुशासन व्यवस्था ऐन, २०६४ को दफा १६ र १७ विपरीत भएको समेत टिप्पणी गरेको छ।
छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई सुशासनको मूल्य मान्यता प्रतिकूल नहुने गरी पुनः निर्णय गर्न अदालतले परमादेश आदेश जारी गरेको छ।
आदेशमा भनिएको छ, ‘मन्त्रालयबाट सुरु गरिएको छनोट प्रक्रियामा सहभागी भई योग्यताका सूचकहरूको मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गरी पहिलो नम्बरको योग्यता क्रममा सिफारिस भएका व्यक्ति, निवेदक उपेन्द्र बहादुर कार्कीलाई नियुक्ति नगरी बिना आधार पिक एण्ड चुज गरी भएको मिति २०८३।१।३१ को निर्णय अपारदर्शी एवं योग्यतामा आधारित नभई त्रुटिपूर्ण रहनुको साथै सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा १६ र १७ को प्रत्यक्ष विपरीत एवम् यस अदालतबाट नेकाप २०७३ अंक १२। नि।नं। ९७२३ समेतमा प्रतिपादित न्यायिक सिद्धान्त प्रतिकूल हुँदा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ। अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्नु भनी विपक्षीहरूको नाममा यो परमादेश समेत जारी गरिएको छ।’
मन्त्रालयले वैशाख १५ गते सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा समिति गठन भएको थियो। उम्मेदवार आह्वान, सर्ट लिस्ट तथा मूल्याङ्कनका सबै चरण पूरा गरेर वैशाख ३१ गते योग्यता क्रम तोकेर नियुक्तिका लागि सिफारिस भएको थियो ।
अदालतले मन्त्रीस्तरीय निर्णयका क्रममा पहिलो नम्बरमा रहेका कार्कीलाई नियुक्त नगरी अन्य उम्मेदवार सिफारिस गरेको पाइएको आदेशमा उल्लेख गरेको छ।
आदेशमा भनिएको छ, ‘मिति २०८३।०१।३१ को योग्यता क्रममा निवेदक उपेन्द्र बहादुर कार्कीको नाम १ नम्बर योग्यता क्रममा रहेको गोप्य सिलबन्दी मूल्याङ्कन फारामबाट निजले सबैभन्दा बढी ३६।६२५ अंक प्राप्त गरेको देखिएकोमा माननीय मन्त्रीबाट मिति २०८३।०१।३१ मा नियुक्तिको निर्णय गर्दा योग्यता क्रमका (२) (३) (४) र (६) तथा महिला उम्मेदवार मध्ये क्र.सं. (२) लाई नियुक्ति गर्ने निर्णय गरेको भए पनि योग्यता क्रमको पहिलो नम्बरमा रहेको यी निवेदक उपेन्द्र बहादुर कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्न नसकिने नगर्नुपर्ने कुनै आधार र कारण खुलाएको पनि देखिएन।’











