काठमाडौं। वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणको टोली पूर्वाधार अनुगमनमा उत्रिएको छ। कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् तथा विद्युत् पूर्वाधारको निरीक्षण गरेको हो।
प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, काठमाडौं ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठ लगायतको टोलीले देविघाट र त्रिशूली जलविद्युत केन्द्र, नुवाकोट वितरण केन्द्र तथा निर्माणाधीन माथिल्लो त्रिशूली-३ बी आयोजनाको उत्पादन, प्रसारण र वितरण प्रणालीको स्थलगत अनुगमन गरेको छ।
निरीक्षणका क्रममा श्रेष्ठले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय समयमै कार्यान्वयन गर्न निर्देशन दिए। उनले नयाँ कर्मचारीको क्षमता अभिवृद्धिका लागि अनुभवी कर्मचारीसँग ज्ञान र अनुभव आदानप्रदान हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।
संस्थागत अनुभव र दक्षताको प्रभावकारी हस्तान्तरण आवश्यक रहेको उनको भनाइ थियो। श्रेष्ठले सुरक्षित, भरपर्दो र निरन्तर विद्युत् सेवा सुनिश्चित गर्न उत्पादन, प्रसारण र वितरण प्रणालीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले मर्मतसम्भार, पूर्वतयारी र जोखिम न्यूनीकरणका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे। विगतका बाढीबाट प्रभावित ड्याम, हेडवर्क्स तथा अन्य संरचनाको संरक्षण र पुनःस्थापनाको अवस्थाबारे पनि उनले जानकारी लिए।
टोलीले गत वर्षको बाढीबाट क्षति पुगेका त्रिशूली-३ बी हब सबस्टेसन तथा सम्बन्धित प्रसारण लाइनका टावरहरूको समेत निरीक्षण गरेको थियो। आगामी वर्षायामलाई लक्षित गर्दै प्रसारण प्रणालीलाई सुरक्षित, भरपर्दो र अविच्छिन्न बनाउन आवश्यक कामलाई तीव्रता दिन श्रेष्ठले निर्देशन दिए।
सम्भावित जोखिमको समयमै पहिचान गरी सुरक्षात्मक उपाय छिटो सम्पन्न गर्न तथा विद्युत् उत्पादनमा कुनै अवरोध आउन नदिन पुनःनिर्माण र मर्मतसम्भारका कामलाई गति दिन उनले सम्बन्धित निकायलाई आग्रह गरे।
आवश्यक सहयोगका लागि केन्द्र सधैं तयार रहेको भन्दै उनले कुनै समस्या देखिए तत्काल जानकारी गराउन समेत अनुरोध गरे।










