दिपक भट्टसहित ३५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २२ अर्ब ३९ करोड बिगो दाबी



बिजमाण्डू
२०८३ जेठ २८ गते २१:२६ | Jun 11, 2026
दिपक भट्टसहित ३५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २२ अर्ब ३९ करोड बिगो दाबी

काठमाडौं। बिचौलिया दीपक भट्टसहित ३५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा चार कम्पनीलाई पनि विपक्षी बनाइएको छ। प्राथमिक र सम्बद्ध कसुरमा एकै दिन तीन फरक फरक मुद्दा उनीहरुविरुद्ध दायर भएको हो।

Tata
GBIME
Nepal Life

जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमासम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। बीमा, लघुवित्तलगायतका विभिन्न कम्पनीका सञ्चालक समेत ७९ प्रतिवादी मुद्दामा कायम गरिएको छ। जसमा इन्फिनिटी होल्डिङ्सका दिपक भट्ट, हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छालगायत प्रतिवादी छन्। मुद्दामा स्टक ब्रोकर, इन्स्योरेन्स कम्पनीका सञ्चालकहरू पनि विपक्षी छन्। प्रतिवादीहरूलाई फरक फरक बिगो र बिगो अनुसारको जरिवानाको माग दाबी गरिएको छ।

यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दायर भएको छ। मुद्दामा कूल २२ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लामो अनुसन्धान र प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। सम्पत्ति शुद्धीकरणमा बिगोको दोब्बर जरिवाना र दश वर्षसम्म कैद सजायको व्यवस्था छ।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दामा भट्टसहित साहिल अग्रवाल, सुलभ अग्रवाललाई विपक्षी बनाइएको छ। यस्तै, बीमा र लघुवित्त कम्पनीलाई पनि मुद्दामा विपक्षी बनाइएको छ।

सरकारी वकिलले भट्ट र साहिल अग्रवाललाई भने मुद्दासाथ विशेष अदालतमा उपस्थित समेत गराएको थियो। मुद्दाको रुजु प्रक्रिया लामो समय चलेपछि उनीहरूको थुनछेक प्रक्रिया भने सुरु भएन। शुक्रबार दुवैको थुनछेक प्रक्रिया सुरु हुनेछ। उनीहरू दुवै जना न्यायिक हिरासतमा छन्।

प्राथमिक कसुरका रूपमा बीमा र धितोपत्रसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौँमा भट्ट तथा अग्रवाललगायत विरुद्ध दायर भएको थियो। सम्बद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको हो। प्रतिवादीलाई विशेष अदालतमा मुद्दासाथ उपस्थित गराइएकाले जिल्लाको थुनछेक प्रक्रिया भने केही दिनमा मात्र हुने अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।

यस्तै बैंकिङ कसुरमा पनि उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। जसमा दिपक भट्ट, साहिल अग्रवाल, सुलभ अग्रवाल र शंकर अग्रवाललाई विपक्षी बनाइएको छ। कूल ४२ करोड १४ लाख ८८ हजार बिगो दाबी गरिएको छ।