इटहरीमा रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’ निर्माण हुने, वित्तीय व्यवस्थापन नेतृत्व एभरेष्ट बैंकको



बिजमाण्डू
२०८३ जेठ २८ गते ०९:४५ | Jun 11, 2026
इटहरीमा रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’ निर्माण हुने, वित्तीय व्यवस्थापन नेतृत्व एभरेष्ट बैंकको

काठमाडौं। पूर्वी नेपालको सुगम सहर इटहरीमा एउटा भव्य सम्मेलन केन्द्र सञ्चालनमा ल्याइने भएको छ। ४ हजार जना सहभागी क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) खोलिने भएको हो।

Tata
GBIME
Nepal Life

यो परियोजना पायोनियर होटल व्यवसायीका रुपमा उदाएका देशबन्धु बस्नेतको ‘ड्रिम प्रोजेक्ट’का रुपमा छ। एबी हस्पिटालिटीको यो परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको सम्झौता भएको छ। वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले नेतृत्व गर्दैछ भने मुक्तिनाथ विकास बैंकको सहकार्य रहने जनाइएको छ।

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष बस्नेतले नै यो परियोजनाको पनि नेतृत्व गर्ने भएका छन्। उनले गत वर्षमात्रै काठमाडौंमा अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘मर्क्योर’ भित्र्याएका थिए भने हालै मात्रै इटहरीमै ‘रमडा बाई विन्धम’ सञ्चालनमा ल्याइसकेका छन्।

दुई अन्तर्राष्ट्रिय स्तरका पाँचतारे होटल चलाइरहेका बस्नेतले इटहरीमा नै रिसोर्ट सहितको अन्तर्राष्ट्रिय स्तरको कन्भेन्सन सेन्टर बनाउने परियोजना अघि बढाएका हुन्। उनको यो तेस्रो अन्तर्राष्ट्रिय स्तरको परियोजना हो। यसले पूर्वी नेपाललाई पर्यटन, व्यवसायिक कार्यक्रम, वेडिङ डेस्टिनेसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यसबाट पूर्वी नेपालका इलाम, कन्चनजंघा, चतरा धाम, बराहक्षेत्र, कोशी टापु, भेडेटार जस्ता गन्तव्यको प्रचार हुनुका साथै नयाँ नयाँ गन्तव्यको पहिचान र विकासमा समेत योगदान पुग्ने देखिएको छ। अहिले भारतीय पर्यटकहरु घुमफिर र बिबाह समारोहका लागि समेत नेपाल आउने गरेका छन्। रिसोर्ट सहितको उक्त सम्मेलन गर्न निर्माण भएपछि त्यस्ता भारतीय पर्यटकहरुको आगमन झन बढ्ने अपेक्षा गरिएको बस्नेतको भनाइ छ।

दक्षिण एसियाली देशहरुबाट हुने अन्तर्राष्ट्रिय समारोह तथा सम्मेलनका लागि समेत उक्त सम्मेलन केन्द्र उपयुक्त हुने उनले बताएका छन्। बस्नेतले भारत, भुटान र बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यावसायिक आवागमन, सुधार हुँदै गएको पूर्वाधार तथा पर्यटन सम्भावनाले पूर्वी नेपाललाई दक्षिण एसियाकै नवीन पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।