विश्वकपको समूह ‘बी’मा प्रतिष्ठाको लडाइँ : बलियो स्वीजरल्याण्डको चुनौती कतार, क्यानडा र बोस्निया



बिजमाण्डू
२०८३ जेठ २७ गते १३:२४ | Jun 10, 2026
विश्वकपको समूह ‘बी’मा प्रतिष्ठाको लडाइँ : बलियो स्वीजरल्याण्डको चुनौती कतार, क्यानडा र बोस्निया

फिफा विश्वकपको समूह ‘बी’मा उपाधिकै दाबेदार मान्न सकिने टोली देखिँदैनन्। यद्यपि, यो समूहमा प्रतिष्ठाको लडाइँ भने गजब हुने देखिन्छ।

Tata
GBIME
Nepal Life

यो समूहमा युरोपको बलियो टोली स्वीजरल्याण्ड छ। उसलाई आफ्नो स्तरअनुसारको विश्वकपमा नतिजा दिन नसकेको पीर छ।

फिफा विश्वकप २०२२ को आयोजक कतारले विश्वकपसँगै टीम निर्माणमा पनि उत्तिकै लगानी गरेको छ। लिगको स्तरमाथि लैजानेदेखि राष्ट्रिय टोलीलाई एसियन च्याम्पियन बनाउनसम्म उसको ठूलो लगानी छ।

घरेलु मैदानमा भएको विश्वकपमा कतारले सोचेभन्दा धेरै कमजोर प्रदर्शन गरेको थियो। दोस्रो पटक विश्वकप खेल्दै गर्दा कतारलाई आफ्नो प्रभाव देखाउनु छ।

अर्को टोली क्यानडा यसपालाको सहआयोजक हो। घरेलु मैदानमा समर्थकको साथ बलियो पक्ष भए पनि नजिता दिनुपर्ने दबाब उसलाई पनि हुनेछ।

पाका खेलाडीले भरिएको बोस्निया एण्ड हर्जगोभनिया भने ‘जायन्ट किलर’ बन्न सक्ने टोली हो। त्यो उसले विश्वकप छनोटमै देखाइसकेको छ। दुई पटकको विश्वविजेता इटालीलाई पछि पारेरै उ विश्वकपमा आइपुगेको हो।

के छन् यी टोलीको बलियो र कमजोर पक्ष?

बोस्निया एण्ड हर्जगोभनिया

सन् २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको बोस्नियाले युरोपेली प्ले-अफमा इटाली जस्तो हेभिवेट टिमलाई स्तब्ध पार्दै यहाँसम्मको यात्रा तय गरेको हो। यसकारण उसलाई ‘जायन्ट किलर’ भन्दा फरक नपर्ला।

प्रशिक्षक सेर्गेज बार्बारेजले टिमलाई शारीरिक रूपमा बलियो र अत्यधिक ऊर्जावान् बनाएका छन्। उनीहरू विपक्षीलाई बल पोसेसन दिएर काउन्टरमा हिर्काउन माहिर छन्।

यो टोलीको मुख्य खेलाडी बन्न सक्छन्- एडन जेको। उमेरले ४० पुगे पनि मैदानमा उनको दबदबा कम छैन।

स्वीजरल्याण्ड

स्वीजरल्याण्ड राम्रो टीम-गेम भएको टोली हो। फिफा विश्वकप होस् या युरो कप स्वीजरल्याण्डलाई हराउन कुनै पनि हेभिवेट टोलीलाई निकै मुस्किल पर्छ।

डिफेन्स र मिडफिल्डमा यो टोली निकै प्रभाशाली पनि छ। १३ पटक विश्वकप खेल्दा ३ पटक क्वाटरफाइनल पुग्नु स्वीजरल्याण्डको सबैभन्दा ठूलो उपलब्धि हो।

फिफाको हेडक्वाटर भएको यो देशको सधैँ सन्तुलित प्रदर्शनका बावजुत मैदानमा नतिजा नआउनु चिन्ताको विषय बनेको छ। यो टोलीमा ग्रानिथ साका हाइप्रोफाइल खेलाडीका रुपमा छन्।

क्यानडा

क्यानडा यसपाला तेस्रो पटक फिफा विश्वकप खेल्दैछ। उसले समूह चरण हालसम्म पार गर्न सकेको छैन। घरेलु मैदानमा यसपाला उसको लक्ष्य कम्तीमा नकआउट चरणसम्म पुग्ने हुनेछ।

प्रिमियर लिगको क्लब लिड्स युनाइटेडको पूर्वप्रशिक्षक जेसे मार्चको प्रशिक्षणमा रहेको यो टोली पछिल्लो समय खेल्ने तरिकामा व्यापक परिवर्तन भएको छ। उसको पछिल्ला खेलको प्याट्रन आक्रमक देखिन्छ।

कप्तान अलफोन्सो डेभिड क्यानडाको ‘फेस’ हुन्। त्यस्तै, क्यानडाको युवा खेलाडीको प्रदर्शन उच्च रहेकाले यसपाला फरक नतिजा आउन सक्ने अनुमान गरिएको छ।

डिफेन्सलाइन बढी आक्रमक भएर अघि जाने हुँदा काउन्टर अट्याकमा उनीहरूले गोल खाने सम्भावना पनि उत्तिकै छ।

कतार

विश्वकपको पूर्वआयोजक टोली हो- कतार। एसियाली फुटबलमा राम्रो प्रभाव जमाएको कतारको विश्वकपमा भने नजिता सोचेजस्तो छैन। हुन त उसको यो दोस्रोमात्र सहभागिता हो।

अक्रम अफिफ र अल्मोज अलीको आक्रमण कतारको बलियो पक्ष हो। उनीहरूको क्रिएटिभिटी र गति राम्रो छ। तर, उनीहरूको डिफेन्सले विश्वस्तरका टोलीको आक्रमणको पेसलाई झेल्न सक्छ या सक्दैन भन्ने चिन्ताको विषय बन्न सक्छ।