एनसेल डाटा सेन्टरले पायो डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन, सुरक्षा र गुणस्तरको मापदण्ड प्रमाणित



बिजमाण्डू
२०८३ जेठ २६ गते २१:०५ | Jun 9, 2026
एनसेल डाटा सेन्टरले पायो डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन, सुरक्षा र गुणस्तरको मापदण्ड प्रमाणित

काठमाडौं। एनसेल डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआईरटीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई उजागर गरेको कम्पनीको जिकिर छ। एनसेल डाटा सेन्टर सरकारद्वारा सूचीकृत नेपालको पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा हो।

यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्रीको मापदण्ड अनुसार रहेको पुष्टि हुने कम्पनीले जनाएको छ। यसले अत्यावश्यक र संवेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पूर्वाधार उपलब्ध रहेको सुनिश्चित हुने छ।

अधिकतम अपटाइमका लागि डिजाइन गरिएको डाटा सेन्टर पुर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ। पूर्णरूपमा अतिरिक्त विद्युत आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत उपलब्ध रहन्छ।

मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो।

“यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोसेढुङ्गा हो किनकि नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने।

प्रमाणीकरणले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिने र सरकारको डिजिटल रूपान्तरणको योजनालाई योगदान पुर्‍याउने पनि फोलेले बताए।

डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासका लागि आइएसओ २७००१ को पनि मान्यता प्राप्त गरिसकेको छ।  

प्रमाणीकरणले एनसेल बिजनेसको क्षमतामा थप अभिवृद्धि भएको कम्‍पनीको भनाई छ। यसले बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, सरकारी निकाय, साना तथा मझौला उद्योग र ठूला व्यवसाय लगायतका सेवाग्राहीहरुलाई डिजिटल सेवा उपलब्ध गराउन तथा नियामकीय नियमको पालना गर्न एनसेल बिजनेस दक्ष रहेको पुष्टि भएको कम्‍पनीको जिकिर छ।

प्रमाणीकरणले बैङ्किङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ प्लेटफर्महरू र अनलाइन सेवाहरू जस्ता महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम अर्थात् निस्कृय रहने समयलाई न्यूनतम बनाउन मद्दत गर्नुका साथै अडिट र कम्प्लाएन्ससँग सम्बन्धित आवश्यकताहरूलाई सरल बनाउने छ।

महत्वपूर्ण डाटाको सुरक्षित स्थानीय होस्टिङलाई सक्षम बनाएर डाटा सार्वभौमिकता बलियो बनाउन प्रमाणीकरण महत्वपूर्ण कदम भएको कम्पनीको भनाई छ।