सरकारले ल्याएको बजेटप्रति वर्षमानको टिप्पणी : सबै भएर पनि केही नभएजस्तो



बिजमाण्डू
२०८३ जेठ २३ गते १८:१० | Jun 6, 2026
सरकारले ल्याएको बजेटप्रति वर्षमानको टिप्पणी : सबै भएर पनि केही नभएजस्तो

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले मुलुकको आवश्यकता अनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल व्यवस्थापन संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पुनले बजेट कुनै पनि क्षेत्रमा स्पष्ट नतिजा दिने गरी केन्द्रित हुन नसकेको टिप्पणी गरे।

उनले सरकारले लोकप्रिय कार्यक्रमहरू समेटे पनि ती कार्यक्रमले आर्थिक समृद्धितर्फ ठोस उपलब्धि दिन नसक्ने बताए। बजेटमा सबैका लागि आकर्षक सुनिने विषयहरू राखिएको भए पनि त्यसको प्रभावकारिता र परिणामबारे स्पष्टता नरहेको उनको भनाइ थियो।

‘बजेटमा केही चिजमा ‘फोकस’ गरिएको छैन,’ पुनले भने, ‘१०० बुँदे कार्यक्रम बनाउँदा पनि सबै राष्ट्रिय दलको लिएर राख्नुभयो। तर, उहाँहरूको आफ्नो नीति कुन त? आफ्नो विचार, राजनीति, प्रवृत्ति वा जोड यो कुरामा भन्ने त्यहाँ देखाउन सक्नुभएन। बजेटमा पनि सबै भएको जस्तो देखिने। सबै विगतका पार्टीले थालेका कार्यक्रमको निरन्तरता जस्तो देखिने। तर, केही नभएको जस्तो छ।’

पुनले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुन क्षेत्रलाई आधार बनाएर आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना गर्ने र देशको रूपान्तरण गर्ने भन्ने विषयमा स्पष्ट दिशा प्रस्तुत गर्न नसकेको बताए। बजेटको मूल प्राथमिकता नै अन्योलमा परेको उनको तर्क थियो।

‘फोकस केमा गर्न खोजेको हो त? केमार्फत आर्थिक वृद्धि गर्ने? केमार्फत रोजगारी सिर्जना गर्ने, के मार्फत देशको रुपान्तरण गर्न खोजेको? भन्ने कुरामा प्राथमिकतामै अल्झिएको जस्तो लाग्छ,’ पुनले भने, ‘बजेटले हेर्दा, सुन्दा, छाम्दा देखिने तर, रिजल्ट नदेखिने, प्राथमिकता नदेखिनेजस्तो विशेषता बोकेको छ।’