अविरल वर्षासँगै संखुवासभामा पहिरो, पाँचखपन-चैनपुर सडकमा आवागमन अवरुद्ध



बिजमाण्डू
२०८३ जेठ २३ गते १३:५८ | Jun 6, 2026
अविरल वर्षासँगै संखुवासभामा पहिरो, पाँचखपन-चैनपुर सडकमा आवागमन अवरुद्ध

संखुवासभा। सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ। पहिरोले पाँचखपनको बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो। शुक्रबार रातिदेखि लगातारको वर्षासँगै पहिरो खसेको हो।

Tata
GBIME
Nepal Life

बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। उनका अनुसार पहिरोले उक्त खण्डको करिब १५ मिटर सडक बगाएको छ।

कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताए। वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

पहिरो गएका क्षेत्रमा शनिबार बिहानैदेखि गाडी चल्न सकेको छैन। सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे।

वर्षाले कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक छिटै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।