काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले जिल्ला अधिवेशनको चटारो छ। पार्टीले शनिबार ३७ जिल्लामा अधिवेशन गर्दैछ। पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।
केन्द्रीय समितिको निर्णयानुसार शनिबार कोशी प्रदेशका ९, मधेसका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुंगा र सुनसरी, मधेसको महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन हुनेछन्।
गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन हुँदैछन्।
आइतबार थप २९ जिल्लामा अधिवेशन हुनेछन्। कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिरहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुर जिल्लाका अधिवेशन हुनेछन्। गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यतालिका छ।
बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुनेछ। संगठनको विशेष परिस्थितिका कारण उक्त दिनका लागि बाराको अधिवेशन तोकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए। प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ।
‘यससँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ।’ यही जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको उनले बताए।
पहिलो अधिवेशन बाग्मती प्रदेशबाट सुरु हुनेछ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।










