काठमाडौं। संयुक्त राष्ट्रसंघका प्रतिनिधिले सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटवार्ता गरी विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, सूचना प्रविधि तथा सेवा प्रवाह सुधारलगायत विषयमा चासो राखेका छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले डिजिटल प्रणालीको विस्तारमा सहकार्य आवश्यक रहेको बताउँदै नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) तथा हेलो सरकारजस्ता डिजिटल प्रणालीमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।
युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले नेपालको मिडिया परिदृश्य, पत्रकारको सुरक्षा तथा पेशागत स्वतन्त्रताको विषय उठाए। उनले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिमैत्री सेवा प्रवाहका लागि निजामती कर्मचारीको क्षमता विकासमा संयुक्त पहल आवश्यक रहेको बताए।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) नेपालका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रियाज लोधीले खाद्य सुरक्षा, विपद् व्यवस्थापन तथा आपतकालीन मानवीय सहायताका क्षेत्रमा प्रविधिमैत्री समन्वय संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी)का कार्यक्रम प्रमुख उलरिच मेइजरले नेपाललाई विद्युतीय कारोबारसम्बन्धी कानुनी संरचना सुदृढ गर्न सहयोग गर्ने बताए।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले साइबर अपराध नियन्त्रण, पारदर्शी शासन प्रणाली र सेवा प्रवाहमा प्रविधिको प्रभावकारी उपयोगमा जोड दिइन्।
सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने भन्दै गलत सूचना र दुष्प्रचार ठूलो चुनौती बनेकाले पत्रकारका लागि तथ्य परीक्षण सम्बन्धी तालिम र मिडिया नियमन निकायको सुदृढीकरणलाई सरकारले प्राथमिकतामा राखेको बताए।
तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा लगायत क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सकिने बताएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।









