उबरले नेपालमा औपचारिक रूपमा सुरु गर्‍यो सेवा, दशकपछि दक्षिण एसियामा बजार विस्तार

बिजमाण्डू
२०८३ जेठ २२ गते १२:४३ | Jun 5, 2026
उबरले नेपालमा औपचारिक रूपमा सुरु गर्‍यो सेवा, दशकपछि दक्षिण एसियामा बजार विस्तार


काठमाडौं। विश्वप्रसिद्ध राइड-हेलिङ कम्पनी उबरले अन्ततः नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। शुक्रबार उबर नेपालले सेवा संचालनमा आएको घोषणा गर्दै नेपाली बजारमा आफ्नो प्रवेशलाई ऐतिहासिक कदमका रूपमा प्रस्तुत गरेको छ।

Vigo
GBIME
Tata

उबरको आगमनसँगै नेपाल एशिया-प्रशान्त क्षेत्रमा कम्पनीको ११औँ बजार बनेको छ। साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले पहिलो पटक बजार विस्तार गरेको हो।

नेपालमा उबरले चारपाङ्ग्रे सवारीका लागि ‘उबर गो’ र ‘उबर कन्फर्ट’ सेवा ल्याएको छ। त्यसैगरी दुईपाङ्ग्रे सवारीका लागि बाइक सेवा पनि उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार यी सेवाले यात्रुलाई सुरक्षित, भरपर्दो र सहज यातायातको विकल्प प्रदान गर्नेछन्। हाल उबर विश्वका ७० भन्दा बढी देशमा संचालनमा छ।

नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कसँग जोड्दै कम्पनीले स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुलाई एउटै एपमार्फत सहज रूपमा यात्रा सेवा लिन सक्ने वातावरण सिर्जना गरेको जनाएको छ। यसले विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाल उबरका लागि अत्यन्त सम्भावनायुक्त बजार भएको बताए। तीव्र सहरीकरण, डिजिटल पहुँचको विस्तार र पर्यटन क्षेत्रको निरन्तर वृद्धिले नेपाललाई कम्पनीका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ छ।

उनले नेपालको गतिशील अर्थतन्त्रसँग सहकार्य गर्दै यात्रु, चालक साझेदार तथा आगन्तुकको आवश्यकता पूरा गर्न उबर प्रतिबद्ध रहेको बताए। स्थानीय बजारको आवश्यकता बुझेर दीर्घकालीन रूपमा सेवा विस्तार गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।

कम्पनीका अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको छ। पर्यटन उद्योग विस्तार भइरहँदा सहज र आधुनिक यातायात सेवाप्रति सर्वसाधारणको माग पनि उकालो लागिरहेको छ। यही कारण नेपालमा डिजिटल राइड-हेलिङ सेवाको सम्भावना उच्च रहेको उबरको विश्वास छ।