काठमाडौं। इलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले सार्वजनिक सेयर बिक्रीअघि आफ्नो मूल्यांकन अपेक्षाभन्दा धेरै माथि पुगेको जनाएको छ।
कम्पनीले आगामी साता सेयर बजारमा प्रवेश गर्ने तयारी गरिरहँदा सार्वजनिक गरेको विवरणअनुसार अनुमानित प्रति सेयर मूल्य १३५ अमेरिकी डलर निर्धारण गरिएको छ।
कम्पनीले अमेरिकी नियामकमा बुझाएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)सम्बन्धी फाइलमा उक्त मूल्य प्रस्ताव गरेको हो। उक्त मूल्यमा सेयर बिक्री भए स्पेसएक्सको कुल मूल्यांकन करिब १.७५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। यो यसै वर्षको सुरुवातमा गरिएको १.२५ ट्रिलियन डलर मूल्यांकनभन्दा निकै बढी हो।
आइपीओ बिक्री सुरु हुनुभन्दा एक साताअघि नै अनुमानित मूल्य सार्वजनिक गर्नु असामान्य कदम मानिएको छ। सामान्यतया कम्पनीहरूले कारोबार सुरु हुनुभन्दा एक दिनअघि मात्र मूल्य दायरा सार्वजनिक गर्ने गर्छन्। तर, स्पेसएक्सले निकै अगाडि नै मूल्य सार्वजनिक गरेर बजारको ध्यान तानेको छ।
स्पेसएक्स आगामी जुन १२ देखि नास्डाक सेयर बजारमा कारोबार सुरु गर्ने तयारीमा छ। कम्पनीले ७५ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा भएमा इतिहासकै सबैभन्दा ठूलो आइपीओमध्ये एक बन्नेछ।
यद्यपि, कम्पनीले प्रस्ताव गरेको मूल्य अन्तिम हुने निश्चित छैन। अन्तिम मूल्य लगानीकर्ताको माग र बजारको अवस्थाले निर्धारण गर्नेछ। मूल्य बढ्न पनि सक्छ र घट्न पनि सक्छ।
अन्तरिक्ष अन्वेषणका लागि रकेट र पूर्वाधार निर्माण गर्ने स्पेसएक्ससँग एआई कम्पनी एक्सएआई र उपग्रह इन्टरनेट सेवा स्टारलिङ्क पनि आबद्ध छन्। यही कारणले कम्पनीलाई भविष्यको प्रविधि क्षेत्रमा ठूलो सम्भावना भएको संस्थाका रूपमा हेरिएको छ।
सेयर मूल्य १३५ डलर वा त्यसभन्दा माथि कायम भए स्पेसएक्स विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बन्नेछ। कम्पनीको ८० प्रतिशतभन्दा बढी स्वामित्व आफूसँग राखेका मस्कको सम्पत्ति पनि अभूतपूर्व रूपमा बढ्नेछ।
केही विश्लेषकहरूले यस्तो अवस्था आएमा मस्क ट्रिलियन डलर सम्पत्ति भएका विश्वकै पहिलो व्यक्ति बन्न सक्ने सम्भावना औंल्याएका छन्।
तर, यस्तो परिणाम निश्चित भने छैन। पुँजी बजार अनुसन्धान संस्था डिलोजिकका अनुसार पछिल्ला ३० वर्षमा आइपीओ निष्कासन गरेका करिब आधा कम्पनीहरूको मूल्य सूचीकरणपछिको अवधिमा घटेको देखिन्छ।
मर्जरमार्केटका इक्विटी पुँजी बजार अनुसन्धान प्रमुख सामुएल केरले स्पेसएक्सको मूल्यांकन निकै उच्च रहेको बताएका छन्। उनका अनुसार कम्पनीले आफ्नो बिक्रीको तुलनामा निर्धारण गरेको मूल्य अनुपात लगानीकर्ताले ‘म्याग-७’ भनेर चिन्ने ठूला प्रविधि कम्पनीहरूको भन्दा पनि बढी छ।
यद्यपि केरका अनुसार लगानीकर्ताहरूले कम्पनीको वर्तमान अवस्थाभन्दा भविष्यको आम्दानी र सम्भावनालाई बढी महत्व दिइरहेका छन्। त्यसैले उच्च मूल्यांकनलाई केही लगानीकर्ताले स्वीकार गर्न सक्छन्।
स्पेसएक्सले गत वर्ष १८.६ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। तर, कम्पनीले ४.९ अर्ब डलर खुद घाटा व्यहोरेको थियो। यसै वर्षको पहिलो ३ महिनामा कम्पनीको बिक्री ४.७ अर्ब डलर पुगे पनि ४.३ अर्ब डलर खुद घाटा भएको देखिएको छ।
कम्पनीको वित्तीय विवरणअनुसार स्पेसएक्ससँग रकेट तथा अन्य उपकरणसहित १०२ अर्ब डलर बराबरको सम्पत्ति छ। तर, कम्पनीमाथि ६०.५ अर्ब डलर ऋणको भार पनि छ।
अमेरिकी उद्यम पुँजी कम्पनी सिट्रिन भेन्चर पार्टनर्सकी प्रबन्ध साझेदार रुथ फोक्स-ब्लेडरले भने स्पेसएक्सको आकर्षण यसको विशाल परियोजना र भविष्य केन्द्रित योजनामा रहेको बताएकी छन्।











